बालेनको बालुवाटार प्रवेश, के हो संकेत ?


काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सार्वजनिक सभा समारोहमा विरलै देखिन्छन् । महानगरपालिकाले आयोजना गर्ने कार्यक्रमबाहेक उनी कहीँकतै देखिन्नन् । अझ संघीय सरकारका प्रमुख, मन्त्री, पदाधिकारीसँग उनको निकै पातलो भेट हुन्छ ।

मेयरमा निर्वाचित भएको साढे तीन वर्षमा बालेनले औपचारिक रूपमा प्रधानमन्त्रीसँग भेटेर कुराकानी गरेको सम्भवतः थिएन । तर उनले बुधबार बिहान अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अनौपचारिक भेट गरेका छन् । सम्भवतः कुनै पनि प्रधानमन्त्रीलाई उनी बालुवाटार गएर भेटेको यो नै पहिलो भएको बताइन्छ ।

बालेनले प्रधानमन्त्री कार्कीसँग आन्दोलनमार्फत जेनजीहरूले उठाएका माग र जनताका अपेक्षाअनुरूप काम हुनुपर्ने धारणा व्यक्त गरेका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले जेनजीको मागप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै निर्वाचन र सुशासनमा केन्द्रित भएर सरकार अघि बढ्ने स्पष्ट पारेकी थिइन् ।

जेनजी आन्दोलनपछि बालेनलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिए पनि उनले स्वीकारेनन् । बरु प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन जनाए । तर शीतल निवासमा सम्पन्न भएको प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा बालेन गएनन् ।

आन्दोलनपछि सार्वजनिक जीवनमा प्रत्यक्ष रूपमा नदेखिएका बालेनको जेनजी आन्दोलन मत्थर भइसकेपछि प्रधानमन्त्रीसँगको भेटलाई अनेक ढंगले व्याख्या र चर्चा गर्न थालिएको छ ।

आगामी आमनिर्वाचनमा बालेनले दल खोलेर भाग लिने र बहुमत ल्याएर प्रधानमन्त्री बन्न सक्ने हल्ला चलाइएको छ । तर उनी निकट नेताहरूले यस्ता हल्ला र चर्चालाई खारेज गरिसकेका छन् । धेरैले बालेन र कुलमान घिसिङ मिलेर पार्टी खोल्ने अनुमान गरेका छन् ।