चलचित्र”बलिदान”बारे निर्देशक सन्तोष सेनको विश्वास , “मनोरञ्जनसँगै देश र आमाप्रतिको माया झल्किन्छ


काठमाडौं – चलचित्र “बलिदान’का निर्देशक तथा निर्माता सन्तोष सेनले चलचित्रप्रति आफ्नो दृढ विश्वास व्यक्त गरेका छन्। उनले यसलाई केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको ममताको अभिव्यक्ति भएको बताएका छन्।

हामीले उठाएको विषय पर्दामा उतार्न निकै कठिन थियो। लामो धैर्य र मेहनतपछि आज यो चलचित्र तयार भएको हो। यसको प्रमुख आधार भनेकै देश र आमा प्रतिको प्रेम हो,” सेनले बताए। उनका अनुसार, फिल्मले दर्शकलाई मनोरञ्जन मात्र नभई काँडा उम्रिने खालको जोस र ऊर्जा दिनेछ।

गत शुक्रबार सार्वजनिक गरिएको ट्रेलरले चलचित्र क्षेत्रमा ठूलो चर्चा ल्याएको छ। ट्रेलरमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन्। एक्सन दृश्य, सशक्त संवाद र दमदार ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई प्रभावशाली बनाएको समीक्षकहरूको भनाइ छ। यसअघि सार्वजनिक भएको गीत ‘यो ज्यान बलिदान’ जनमानसमा निकै लोकप्रिय बनेको छ।

‘आशुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र प्रेम पुरीलगायतको अभिनय देख्न पाइनेछ। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेको फिल्म आगामी असोज १३ गते (फूलपातीको दिन)बाट प्रदर्शनमा आउँदैछ।

निर्देशक सेनले ‘बलिदान’लाई हरेक नेपालीको विद्रोहको प्रतीक भएको उल्लेख गर्दै यसलाई नेपाली चलचित्र इतिहासमै साहसी कदमका रूपमा स्मरणीय बन्ने विश्वास व्यक्त गरेका छन्।