पहिरोले देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध, दशैँमा घर जानेलाई सास्ती


काठमाडौँ । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण संखुवासभाको भोटखोला गाउँपालिका–४ वरुणस्थित कोशी राजमार्ग, संखुवासभाको मकालु गाउँपालिका–३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।

त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ पासाङल्हामु राजमार्गस्थित नेपाल–चीन जोड्ने मितेरी पुल, रुकुम पूर्वको भूमे गाउँपालिका–४ स्थित मध्यपहाडी लोकमार्ग र चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ–नारायणघाट सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार नवलपरासी पूर्वस्थित पूव–पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली–मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।

बाढी पूर्वानुमान तथा पूर्वसूचना महाशाखाले चितवन र तनहुँमा भारी वर्षा भएकाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाले बुधबार राति चितवन जिल्लास्थित त्रिशूली काली खोला र तनहुँ जिल्लास्थित सखार वर्षा मापन केन्द्रहरुमा भारी बर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेकोले सो क्षेत्र भइ बहने ससाना खोलाहरुमा आकस्मिक बहाब बढ्न सक्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

दशैंका बेला देशका प्रमुख राजमार्ग अवरुद्ध र ठूला वर्षा भइरहेकाले जनताले सास्ती पाउने भएका छन् । अघिल्लो वर्ष असोज १२ मा बिपी राजमार्गसहित देशका विभिन्न सडक बगाएको थियो । यसपाली मनसुन सकिने बेला पानी परेको परै छ ।