काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पृतनापतिहरूको सम्मेलन बोलाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेको पर्सिपल्ट सिग्देलले पृतनापति सम्मेलन बोलाएका हुन् ।
मुलुकमा सुरक्षा चुनौती बढ्दै गएको निष्कर्ष निकाल्दै सेनाले बिहीबार पृतनापतिहरूको समन्वयात्मक बैठक राख्ने निर्णय गरेको हो। सम्मेलनमा सातै प्रदेशका प्रमुखहरू सहभागी हुनेछन्। साथै, सैनिक मुख्यालयमा कार्यरत जर्नेलहरू पनि सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।
प्रधानसेनापति सिग्देलले मंगलवार र बुधवार सबै पृतनाका पृतनापतिहरूसँग टेलिफोन संवाद गरेर सुरक्षा अवस्थाको जानकारी लिनुको साथै स्थिति जटिल भएको भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको स्रोतले बतायो ।
बिहीबार सैनिक मुख्यालयमा पृतनापतिहरूले भिडियो कन्फरेन्समार्फत आफ्नो जिम्मेवारी क्षेत्रको रिपोर्टिङ गर्नेछन् । वर्तमान अवस्था र भविष्यमा आउन सक्ने चुनौतीहरूबारे छलफल हुने बुझिएको छ। बैठकमा विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरूको सुझाव पनि लिइने कार्यक्रम छ।
सम्मेलनमा पृतनापतिहरू किरण केसी (सुदूरपश्चिम), दीपेन्द्र शाह (कर्णाली), प्रेम पुन (बुटवल), मधुकर कार्की (पोखरा), हरेन्द्र पाठक (हेटौडा), रवीन्द्र कार्की (उपत्यका), कृष्ण जिसी (मधेश प्रदेश–महोत्तरी) र गौरव केसी (इटहरी) सहभागी हुनेछन्।
भदौ २४ मा देशमा भएको घटनापछि प्रधानसेनापति सिग्देलकै सहजीकरणमा अन्तरिम सरकार गठन भएको थियो। उनले विभिन्न पक्षसँग वार्ता गरेर देशका समस्या समाधानमा भूमिका खेलेका थिए। सेनाले शान्ति सुरक्षाको अवस्था सामान्य बनाएपछि नयाँ सरकार गठन भएको थियो।
देशभरका कारागारबाट फरार भएका सात हजारभन्दा बढी कैदीबन्दी नफर्केकाले सुरक्षा चुनौती बढेको सेनाको निष्कर्ष छ । सेनाले तिहार सकिएलगत्तै भीषण आन्दोलन चर्किने अनुमान गरेको छ । सुशीला कार्कीको नेतृत्वमा बनेको गैरदलीय सरकार विध्वंशबाट बनेको भन्दै असन्तुष्टि चर्किंदै गएको छ । त्यसैले तिहारलगत्तै प्रमुख दलहरू आन्दोलनमा जाने सेनाको अनुमान छ ।













प्रतिक्रिया