काठमाडौं । माओवादी केन्द्रीय समितिको सातौ पूर्ण बैठक कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको छ । पछिल्लो राजनीतिक अवस्था र पार्टीको विशेष महाधिवेशनको विषयमा छलफल गर्न माओवादी केन्द्रीय समितिको बैठक बसेको हो ।
तर बैठकको सुरुमै होहल्ला भयो । होहल्लापछि पत्रकारहरुलाई बाहिर निकालिएको छ । बैठकको सुरुमै नेताहरु सुदन किराँती, रञ्जित तामाङलगायतले प्रत्येक सदस्यहरु बोल्न पाउनुपर्ने माग राखेका थिए । पार्टीले भौगोलिक र गैरभौगोलिक समूहमा छलफल गरेर टोली नेताले बैठकमा धारणा राख्ने तयारी गरेपछि उनीहरू आक्रोशित भएका हुन् । त्यसको विरोध गर्दै प्रत्येक सदस्यले बोल्न पाउनुपर्ने माग उठेपछि बैठक हलमा होहल्ला भएको थियो ।
त्यसपछि महासचिव देव गुरुङले पत्रकारहरुलाई बाहिर निकालेर एजेण्डा प्रस्तुत गरेका छन् । विशेष महाधिवेशन, आमनिर्वाचन, पार्टी एकतालगायत विषय बैठकका एजेण्डा छन् ।
पहिलो दिनको बैठकमा केन्द्रीय सदस्यहरूलाई आफ्ना धारणा राख्न दिने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदनमा समूह बनाएर छलफल गरिने भएको छ । प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने गरी मौजुदा केन्द्रीय कार्यसमिति भंग गर्ने प्रस्ताव गरेका छन् । जसलाई केन्द्रीय समितिले अनुमोदन गरेमा लागू हुनेछ । माओवादी स्थायी समितिको बुधबारको बैठकमा केन्द्रीय समिति विघटन गरी प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने विषयमा छलफल भएको थियो । पार्टीमा नेतृत्व हस्तान्तरणको विषय व्यापक उठेपछि माओवादी विशेष महाधिवेशनमा जान लागेको हो । तर युवा नेतालाई बोल्न प्रतिबन्ध लगाइएको छ ।














प्रतिक्रिया