बालेनविरुद्ध हर्कको निरन्तर प्रहार, भन्न छाडेनन् ‘विदेशी दलाल’


काठमाडौँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङ निरन्तर काठमाडौंका मेयर बालेन्द्र साह बालेनविरुद्ध खनिएका छन् । जेनजी आन्दोलनअघिसम्म हर्कले बालेनको तारिफ गर्दै आएका थिए । तर जब जेनजी आन्दोलनका नाममा घुसपैठ गरी राज्य र व्यक्तिका सम्पत्ति खरानी बनाइयो र आफूलाई सरकारमा जानबाट रोकियो, त्यो बेलादेखि हर्कले बालेनविरुद्ध संगीन आरोप लगाउँदै आएका छन् ।

एक दिनमा हर्कले करिब ४० वटा स्टाटस लेख्छन् । त्यसमा बालेनलाई एक दुईबाहेक सबैमा गाली गरिएकै हुन्छ । विदेशी दलाल भनेर आरोप लगाइएको नै हुन्छ । हर्कले आफूविरुद्ध दिनहुँ स्टाटस लेख्ने गरे पनि आफूले धेरै माया गर्ने मान्छे भन्दै बालेनले एकपटक स्टाटसबाटै जवाफ दिएका थिए । तर हर्क रोकिएका छैनन् । उनले बालेनप्रति कटाक्ष गर्न जारी राखेका छन् । पछिल्लो सामाजिक सञ्जाल पोष्टमा हर्कले बालेनलाई ‘विदेशी दलाल’ भनेका छन् ।

हर्कले बालेनले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेका स्ट्याटसप्रति टिप्पणी गर्दै ‘विदेशी दलाल’ को स्ट्याटस बेमौसमी गीत मात्रै भएको उल्लेख गर्दै देशको अवस्था खरानी बनाएर घरी एम्बुलेन्स र घरी छात्रवृत्ति भनेको भन्दै अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले ‘विदेशी दलाल’ भनेर चिनिसकेको बताएका छन् । ‘विदेशी दलालको स्ट्याटस बेमौसमी गीत मात्रै हो । देशको अवस्था खरानी बनाएर घरी एम्बुलेन्स रे, घरी छात्रवृत्ति रे, भो अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले चिनिसक्यो विदेशी दलाल भनेर !’ उनले भनेका छन् ।

हर्कको जबर्जस्त आरोपले बालेन रक्षात्मक बन्दै गएको सत्य हो । त्यही भएर अहिले उनी अलि एक्टिभ देखिन थालेका छन् । महानगरका रोकिएका कार्यक्रमबारे दिनहुँ सामाजिक सञ्जालमार्फत अपडेट गराइरहन्छन् ।