काठमाडौं । दशैंको फुलपाती अर्थात् असोज १३ गते रिलिज हुन लागेको ‘माइतीघर’ सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् । चलचित्रलाई चलचित्र जाँच पास समितिले ‘युनिभर्सल’ सर्टिफिकेट दिएको छ ।
बुधबार बेलुकी सेन्सर भएको चलचित्रको कथा, पटकथा र कलाकारको अभिनयको अहिले व्यापक चर्चा परिचर्चा भइरहेको छ । सेन्सर बोर्डमा चलचित्र हेरेपछि यसको कथावस्तु, प्रस्तुति र कलाकारहरुको विषयमा कुराकानीसमेत भएको थियो । सेन्सरका अधिकांश कर्मचारीहरुले लामो समयपछि एउटा उत्कृष्ट पारिवारिक चलचित्र हेर्न पाएको प्रतिक्रिया दिएका थिए ।
चलचित्र कमेडी, पारिवारिक र भावनासँग जोडिएको भन्दै तारिफ गरेको निर्माण पक्षले बताएको छ । चलचित्रका निर्माता रोहित अधिकारीले पनि दर्शक यसपटक निराश नहुने बताउँदै आएका छन् । सोही कारण उनले बडादशैंको अवसर पारेर चलचित्र रिलिजको घोषणा गरेका थिए ।
चलचित्रको बुकिङसमेत खुलिसकेको छ । ‘माइतीघर’ ले देशभरका हलमा सय बढी शोज पाइसकेको छ । अझै पनि केही हलमा शोज खुल्न बाँकी नै छ ।
चलचित्रलाई बिहान सवा ५ बजेदेखि बेलुकीसम्म अधिकांश हलले शोज दिएका छन् । चलचित्रले व्यापारिक रुपमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।
सिनेमा हलले धेरै शोज दिनुको अर्थ चलचित्रमा भएको कन्टेन्टले गर्दा नै हो । दशैंको बेला कमेडी र पारिवारिक कथावस्तु भएको चलचित्रले ब्लकबस्टर व्यापार गर्दै आएका छन् । त्यसैले पनि दर्शकहरू ‘माइतीघर’ प्रति आशावादी र प्रतीक्षामा रहेको वुझ्न सकिन्छ ।
चलचित्रको ट्रेलर र शीर्ष गीतलाई दर्शकको मन पराइसकेका छन् । चलचित्रमा केदार घिमिरे (माग्नेबुढा), धिरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतका कलाकारहरुको अभिनय छ ।
रामशरण पाठकले लेखेको चलचित्रको कथावस्तुलाई दर्शकले मन पराउने र बलियो वर्ड अफ माउथ आउने अपेक्षा गरिएको छ । यसअघि निर्माता अधिकारीले बनाएका तीनवटै चलचित्र हिट भएका थिए ।














प्रतिक्रिया