ठूला दलका शीर्ष नेता राज्यको निगरानीमा, जुनसुकै बेला पक्राउ पर्न सक्ने


काठमाडौं । प्रमुख दलका शीर्ष नेता राज्यको निगरानीमा परेका छन् । जेनजी आन्दोलनका क्रममा उनीहरूको निवासमा आगजनी गर्दा जलेका सम्पत्ति, पैसाका खण्डहर अनुमान गरिएभन्दा धेरै भेटिएपछि उनीहरू राज्यको निगरानीमा परेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वमन्त्री दीपक खड्का, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका नेताहरूको घर आगजनी गरिएको थियो । आगजनी गरिँदा जलेका फोटो र पछि खिचिएका फोटो र भिडियोमाथि अहिले अनुसन्धान जारी छ । त्यसका लागि प्रमुख दलका नेताहरू पक्राउसमेत पर्नसक्ने गृहमन्त्री ओमप्रकाश अर्यालले सार्वजनिक रूपमै बताइसकेका छन् ।

गृहमन्त्री अर्यालले नेताहरूको पासपोर्ट रोक्का गर्नु मात्रै नभई आवश्यक परे उनीहरूलाई पक्राउ गर्नुपर्ने पनि हुन सक्ने बताएका छन् । बिहीबार साँझ मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारबाट बाहिरिने क्रममा पत्रकारहरूको जिज्ञासामा उनले भ्रष्टाचार तथा जेन–जी आन्दोलनमा दमन गर्ने नेताहरू पक्राउ पर्नसक्ने चेतावनी दिएका हुन् । ‘कानुनमा सबै कुरा स्पष्ट छ । अनुसन्धान गर्ने निकायले आवश्यक ठानेको काम गर्छ । पासपोर्ट रोक्का मात्र होइन, पक्राउ गरेर बयान लिनुपर्ने अवस्था आएमा त्यसो पनि गरिन्छ,’ उनले भने ।

गृहमन्त्री अर्यालले भ्रष्टाचारको छानबिनका लागि राज्यका अनुसन्धान गर्ने निकायहरू सक्रिय भइसकेको पनि बताए । ‘कानुनमा लेखिएअनुसार नै काम हुन्छ,’ उनले भने, ‘राज्यका निकायहरूले अनुसन्धान थालिसकेका छन् ।’ उनले भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा सरकार दृढ रहने पनि बताए । ‘पाँच वर्षको म्यान्डेट पाएको सरकार पनि बीचमै भंग भयो । यदि सुशासनको मामिलामा कदम नचाल्ने हो भने यो सरकारको पनि म्यान्डेटमा प्रश्न उठ्छ । त्यसैले सरकारले राम्रोसँग खुट्टा टेक्छ,’ गृहमन्त्रीले भने ।

सञ्चारमन्त्री जगदीश खरेलले पनि अहिले नेताहरूबारे उठिरहेका प्रश्नमा सरकारले अनुसन्धान थालिसकेको बताएका छन् । ‘पासपोर्ट रोक्काको सम्बन्धमा तथा भ्रष्टाचारसँग जोडिएकाहरूको सम्बन्धमा राज्यका संयन्त्रहरूले अनुसन्धान गरिरहेको कुरा अवगत गराउन चाहन्छु,’ उनको भनाइ छ ।