मुलुक संवेदनशील अवस्थामा पुगेको सेनाको ठहर, ‘अलर्ट’ रहन निर्देशन


काठमाडौं । नेपाली सेनाले मुलुक संवेदनशील अवस्थामा पुगेको ठहर गरेको छ । सैनिक मुख्यालय जंगी अड्डामा सम्पन्न एकदिने पृतनापति सम्मेलनले यस्तो निष्कर्ष निकालेको हो । सम्मेलनमा मुलुकको पछिल्लो अवस्था र आगामी रणनीतिबारे गम्भीर छलफल भएको थियो ।

हरेक वर्ष दशैँअघि आयोजना हुने नियमित सम्मेलनलाई यसपटक भने विशेष महत्वका साथ हेरिएको छ । हालैको जेन–जी आन्दोलन र त्यसपछि उत्पन्न अराजक अवस्थाले गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठेको सन्दर्भमा सेनाले सुरक्षा दृष्टिकोणलाई पुनर्मूल्यांकन गर्दै ‘सतिसालजस्तै दृढ’ रहन आह्वान गरेको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गरेको सम्मेलनमा सबै पृतनापतिले आआफ्ना कार्यक्षेत्रका सुरक्षा अवस्थामाथि प्रतिवेदन प्रस्तुत गरेका थिए । यसपटक भर्चुअल रूपमा पृतनापतिहरूले आफ्नै कार्यक्षेत्रबाट प्रत्यक्ष प्रस्तुति दिएका थिए ।

सम्मेलनले हालैको जेन–जी आन्दोलनपश्चात नेपाल भूराजनीतिक चक्रव्यूहको चरम अवस्थामा पुगेको मूल्यांकन गरिएको छ । बाह्य शक्तिहरूले नेपालको आन्तरिक अस्थिरतालाई उपयोग गर्दै रणनीतिक हित खोजिरहेकोतर्पm सम्मेलनले संकेत गरेको स्रोतले बतायो । जसकारण सेनाले अब आफ्नो भूमिका अझ प्रभावकारी बनाउनैपर्ने निष्कर्ष निकालेको छ ।

पृतनापतिहरूले सुरक्षाको चुनौतीलाई सामना गर्न सेनाले उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले प्रस्तुत गरेका प्रतिवेदनमा सीमापार गतिविधि, गैर–राज्य शक्तिहरूको चासो, सामाजिक विद्रोह, सूचना–प्रविधिमार्फत बढ्दो प्रचारयुद्धलगायतका चुनौतीलाई नजिकैबाट नियाल्नुपर्ने बारेमा समेत छलफल भएको बताइएको छ ।