काठमाडौं – असोज १३ गते अर्थात बडादशैंको फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ प्रचार–प्रसारमा व्यस्त छ। बिहीबार काठमाडौंमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका मुख्य कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहेको थियो।
प्रचार सामग्री सार्वजनिक भएपछि दर्शकबाट आएको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको टिमले कार्यक्रममा जानकारी दिएको थियो।
चलचित्रको ट्रेलरमै अहिलेको जेन–जी आन्दोलनसँग जोडिएका केही प्रसङ्ग झल्काइएको थियो। सोही विषयमा उठेका प्रश्नमा कलाकार हरिवंश आचार्यले भने, “यो कथा करिब एक वर्षअघि नै तयार भएको हो। अहिले युवापुस्ताले उठाइरहेको मागसँग हाम्रो कथाको भाव मिल्नु संयोग मात्र हो।”
उनका अनुसार चलचित्र पहिले नै तयार भइसकेको र सेन्सर पास पनि गरिसकेको थियो। “यदि दुई महिना ढिलो रिलिज भएको भए ‘जेन–जी’ आन्दोलनलाई ध्यानमा राखेर फिल्म बनाइएको भनेर दर्शकले भन्न सक्थे। तर असोज १३ गतेमै रिलिज हुने भएकाले हामीले उठाएको मुद्दा पहिले नै सबैको मनमा रहेको पुष्टि हुन्छ,” आचार्यले स्पष्ट पारे।
आचार्यले फिल्मलाई केवल कमेडीको रूपमा मात्र नहेर्न आग्रह गरे। उनका शब्दमा, “ट्रेलरलाई हल्का–फुल्का शैलीमा काटिएको छ। तर चलचित्रमा गम्भीर विषय पनि समेटिएका छन्।”
जेन–जी आन्दोलनमा जुत्ताले सांकेतिक भूमिका खेलेझैं, यस चलचित्रमा पनि जुत्ता प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ। फिल्मले भ्रष्टाचारसँगै नातावाद (नेपोटिज्म) जस्ता संवेदनशील मुद्दालाई समेत उठाएको आचार्यको भनाइ छ।
दीपेन्द्र के. खनाल निर्देशित यस फिल्ममा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ।
एसएम मोशन पिक्चर्सको ब्यानरमा बनेको ‘हरिबहादुरको जुत्ता’ सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। कृष्ण बहादुर थापाले छायांकन गरेको फिल्मको सम्पादन नकुल खड्काले गरेका हुन्। संगीत निर्देशन वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले गरेका छन्।














प्रतिक्रिया