काठमाडौं । यसपालिको बडादसैँमा तीनवटा नेपाली चलचित्र एक साथ रिलिज हुँदैछन् । फुलपातीको दिन सोमबारदेखि ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ देशभर र बाहिर एकसाथ प्रदर्शनमा आउँदैछन् । कथावस्तुका हिसाबले तीनवटै चलचित्र फरक फरक भएकाले दर्शकले आआफ्ना रुचिअनुसार हेर्न सक्नेछन् ।
‘बलिदान’ एक्सन प्रधान चलचित्र हो । ‘माइतीघर’ फेमेली ड्रामा र कमेडी जनरामा बनेको चलचित्र हो । ‘हरिबहादुरको जुत्ता’ डार्क कमेडी र सामाजिक विषयवस्तुमा आधारित चलचित्र हो । यी तीन चलचित्रको लागि देशभरका अधिकांश मल्टिप्लेक्सहरूले अग्रिम टिकट बुकिङ खुलाइसकेका छन्। तीनवटै चलचित्रको लागि मल्टिप्लेक्सहरूमा बिहान साढे ५ देखि मध्यरात साढे ११ बजेसम्मका शोहरू राखिएका छन्।
सन्तोष सेन निर्देशित ‘बलिदान’ ले अन्य दुई चलचित्रको तुलनामा बढी शो पाएको छ। देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘बलिदान’ लाई काठमाडौंका आउटलेटमा मात्र ४१ शो दिएको छ।
रोहित अधिकारी निर्माता र मिलन तामाङ निर्देशित ‘माइतीघर’ ले क्युएफएक्सले २८ शो पाएको छ । दीपेन्द्र के. खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ ले २७ शो पाएको छ। वान सिनेमाजमा ‘बलिदान’ ले १० शो, ‘माइतीघर’ ले ९ शो र ‘हरिबहादुरको जुत्ता’ ल्र ७ शो पाएको छ भने बिग मुभिजमा तीनवटै चलचित्रले बराबर ५–५ शो पाएका छन् । अन्य मल्टिप्लेक्सहरूले पनि बुकिङ सुरु गरिसकेका छन्।
‘बलिदान’ मा कलाकारद्वय समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ । चलचित्र दुई घण्टा १० मिनेट लामो छ।
‘माइतीघर’ मा केदार घिमिरे (माग्ने बुढा), धीरज मगर, प्रकाश सपुत र उपासनासिंह ठकुरीलगायतको अभिनय छ । यो चलचित्र दुई घण्टा सात मिनेट लामो छ।
‘हरिबहादुरको जुत्ता’ मा अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका छ। उनीबाहेक चलचित्रमा प्रकाश सपुत, प्रियंका कार्की र स्वस्तिमा खड्काको पनि अभिनय छ । यो चलचित्रको रनटाइम दुई घण्टा २१ मिनेट रहेको छ ।
शोज विभाजनको अनुपात ४०–३०–३० प्रतिशत देखिन्छ । बिहीबार दिउँसो १ बजेसम्म प्रकाशित शो तालिका हेर्दा सबैभन्दा धेरै शोज समीर भट्ट अभिनित ‘बलिदान’ले पाएको देखिन्छ । सन्तोष सेन निर्देशित चलचित्रले देशब्यापी १९३ शोज पाएको छ । त्यसपछिको धेरै शो मिलन तामाङ निर्देशित र माग्नेबुढा अभिनित चलचित्र ‘माइतीघर’ ले १२१ शोज पाएको छ । हरिवंश आचार्य स्टारर ‘हरिबहादुरको जुत्ता’ले कूल ११६ शोज पाएको छ ।
अझै पनि सबै शोज तालिका सार्वजनिक भइसकेको छैन । शुक्रबार बिहानैदेखि बुकिङ खुला भएकाले शनिबार बिहानसम्म थप शोबारे जानकारी आउने छ । आइतबार रातिसम्म बुकिङको यथार्थ चित्र आउनेछ ।
हलले सबेरै बिहान ५ः३० बजेदेखि मध्यरात ११ः५५ बजेसम्म शो दिएका छन् । अन्तिम शो छुट्दा बिहानको ३ बज्नेछ । दुई घण्टा लगत्तै बिहानको अर्को शो सुचारु हुनेछ । विगतमा चर्चित हिन्दी सिनेमा पनि रातभर चल्ने गर्थे । यसपटक दशैंमा पनि त्यस्तै दृश्य दोहोरिने निश्चित छ ।
अघिल्लो वर्ष ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ राजा’ पनि दशैंमा रिलिज हुँदा रातभर दर्शक हलमा हुन्थे । यसपटक पनि त्यस्तै हुने देखिएको छ ।














प्रतिक्रिया