निकोलस भुसालले होटलमा राखे जेनजी भेला


काठमाडौं । आफूलाई नेपालको ‘पहिलो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री’ घोषणा गर्ने डा.निकोलस भुसालले शुक्रबार बत्तीसपुतलीस्थित होटल तपसमा भेला राखेका छन् । आफूलाई समाजिक अभियन्ता दावी गर्ने उनले संविधान खारेजीको माग गर्दै युवा भेला गर्न लागेका हुन् ।

जेनजी प्रदर्शनमा देखिएका भुसाल विगतदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा थिए । जेनजीका हत्यारालाई यथाशीघ्र पक्राउ, आन्दोलनले उठाएको माग पूरा गर्न र अन्तरिम संविधान जारी गर्ने वातावरण बनाउन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई कात्तिक १४ गतेसम्मको अल्टिमेटम दिने भुसाल समूहको निर्णय छ ।

प्रधानमन्त्री कार्कीले बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि मात्रै संविधान संशोधन गर्न सकिने बताएपछि भुसाल आक्रोशित भएका छन् ।

युवापंक्तिमा केही लोकप्रिय भए पनि भुसाल बोलीको ठेगान नभएका व्यक्ति हुन् । आफूलाई मन नपर्नेवित्तिकै जसलाई जे पनि आरोप लगाउने उनको बानी छ । पछिल्ल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको चर्को आलोचना गर्दै आएका भुसाल अन्तरिम सरकारमा आफू वा आफू निकटका कुनै व्यक्तिलाई मन्त्री बनाउन चाहन्थे । तर, प्रधानमन्त्री कार्की र बालेनले वास्ता नगरेपछि उनी सरकार नै विदेशीले बनाइदिएको भन्दै हिँडेका छन् ।