जेनजी आन्दोलनले खल्लो दसैँ, छैन खासै रौनक


काठमाडौं । बडादसैँको आज पाँचौं दिन । विगतमा यतिबेला दसैँको छुट्टै चहलपहल र रौनक भइसक्थ्यो । तर आजका दिनसम्म पनि सर्वसाधारणमा खासै उत्साह देखिएको छैन । यसो हुनुको मुख्य कारण भदौ २३ र २४ को जेनजी आन्दोलन हो ।

जेनजी आन्दोलन सफल भए पनि कार्यापालिका, न्यायपालिका, व्यवस्थापिका, व्यक्ति र प्रतिष्ठान, उद्योग, कलकारखाना, होटेल, प्रहरी कार्यालयलगायतमा तोडफोड र आगजनी गरी दुई खर्बभन्दा बढीको क्षति पुगेपछि दसैँ खल्लो बन्न पुगेको हो । त्यसमाथि देशभरका विभिन्न कारागारबाट ६ हजार कैदीबन्दी फरार भएपछि सुरक्षाका कारण मानिसहरू अझै खुलेर बोल्न सकेका छैनन् ।

दसैँको मुखमा धेरैको रोजीरोटी गुमेको छ । हजारौंको जागिर खोसिएको छ । रोजगारदाता आफैं पीडित बनेको अवस्था छ । त्यसमाथि जेनजी आन्दोलनमा भएको घुसपैठले को कस्तो छ भन्ने मान्छेले भेउ पाउन सकेका छैनन् । गाउँगाउँसम्म फैलिएका दलका समर्थक र जेनजी समर्थकबीच जुनसुकै बेला पनि झडप र विवाद हुन सक्ने भय देखिन्छ । त्यसले गर्दा पनि यसपटकको दसैँ विगतको भन्दा खल्लो बन्ने आमबुझाई छ ।

देश नै जलेको र जुनसुकै बेला वैदेशिक हस्तक्षेप हुने डरलाग्दो अवस्था छ । यस्तोमा कोही पनि रमाएर दसैँ मनाउने अवस्थामा छैनन् । त्यसमाथि कतिपयले त यसपटकको दसैँ नमनाउने सार्वजनिक घोषणासमेत गरेकाले दसैँ रौनकविहीन बन्ने देखिन्छ ।

कांग्रेस, एमाले, माओवादीलगायत दलका हजारौं घर तोडफोड भएका छन् । जसकारण ती ठूला दलका समर्थकले खुलेर दसैँ मनाउलान् भनेर भन्न सकिने अवस्था छैन । त्यसमाथि तिहारलगत्तै ठूलो आन्दोलन हुने हल्ला फैलिएकाले पनि मानिसमा एकप्रकारको भय देखिएको छ । यस्तो अवस्थामा मानिसहरू पार्क घुम्न जाने, बजारमा किनमेल गर्ने, सिनेमा हेर्न जाने, संगीत महोत्सवमा रमाउने परिस्थिति देखिन्न ।

विभिन्न देशले नेपालीको भिसा रोकेको, थप रोक्ने प्रक्रियामा रहेकाले धेरैलाई अब के होला भन्ने संशय पैदा भएको छ । विगतमा दसैँ भन्नेवित्तिकै आर्थिक आयआर्जनको मुख्य सिजन मानिन्थ्यो । तर यसपटक त्यसलाई जेनजी आन्दोलनले हरण गरेको छ ।