बालेन र रविलाई गिरफ्तार गरेर जेल हाल्न एमाले नेताको माग


काठमाडौं । एमाले नेता गुरुप्रसाद भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् । जेनजी ध्वंशको क्रममा बालेनकै कारणकै ५६ जनाको मृत्यु भएको भन्दै उनलाई पक्राउ गरेर जेल हाल्नुपर्ने उनको माग छ ।

‘भदौ २३ गते १९ जना मरे । सरकारले मार्यो, प्रहरीले मार्यो भन्ने बुझियो, तर मान्छे त ७५ जना मरेका छन्’, भट्टराईले भनेका छन्, ‘२४ गते बाँकी ५६ जना मार्ने रवि र बालेनहरु हुन्, यिनीहरुलाई गिरफ्तार गरेर जेल हाल्नुपर्छ ।’

एमालेका अधिकांश नेता कार्यकर्ताले जेनजी ध्वंशमा बालेन र रास्वपाको हात रहेको बताउँदै आएका छन् । यसबारे बालेनले अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् । एमाले अध्यक्ष केपी ओलीले समेत सिंहदरबार जल्नमा बालेनको हात रहेको टिप्पणी गरिसकेका छन् । भट्टराईले प्रधानमन्त्री भएको बेला भट्टराईले रेल विभागको नियुक्ति खाएका थिए ।

भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले घर भाडा तिर्न नसक्ने पनि बताएका छन् । रास्वपाको मुख्यालय रहेको घरका साहु भरतमणि देवकोटाले तीन महिनाभित्र खाली गर्न सूचना पठाएको विषय सार्वजनिक भएपछि उनले लेखेका छन्, ‘पैसाको जोहो गर्ने ठग (रवि लामिछाने) जेलमा छ । कसरी तिर्नु भाडा ? अब फेरि घण्टेहरुले भाडामा पनि प्रतिशोध साँधियो भन्ने त होला ?’

रास्वपाका सभापति लामिछाने हाल नख्खु कारागारमा थुनामा छन् । सहकारी ठगी प्रकरणमा उनी विगत ६ महिनादेखि थुनामा छन् ।