‘बलिदान’लाई सेन्सर बोर्डबाट PG प्रमाणपत्र, सोमबार फूलपातीका दिनदेखि रिलिज


काठमाडौं – आगामी सोमबार (असोज १३) फूलपातीको दिनदेखि प्रदर्शनमा आउने चलचित्र ‘बलिदान’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल गाइडेन्स (PG) प्रमाणपत्र प्रदान गरेको छ। शुक्रबार सम्पन्न सेन्सर प्रक्रियापछि समितिले चलचित्रलाई सबै उमेर समूहका दर्शकले अभिभावकको मार्गदर्शनसहित हेर्न सक्ने निर्णय गरेको हो।

सन्तोष सेनको निर्देशनमा बनेको ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ।

निर्मातापक्षका अनुसार चलचित्रले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने दर्शकको चासो र हल सञ्चालकहरूको मागअनुसार यो सङ्ख्या ३०० सम्म पुग्ने सम्भावना रहेको छ। अग्रिम टिकट बिक्री सुरु भएसँगै दर्शकको उत्साहजनक प्रतिक्रिया पाइएकाले फिल्मप्रति उच्च अपेक्षा गरिएको छ।

‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आउने ‘बलिदान’लाई पारिवारिक मनोरञ्जनको मुख्य आकर्षण हुने विश्वास लिइएको छ।