काठमाडौं । नेपाली फिल्म ‘परान’ मा समावेश पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको यो गीत नृत्यप्रधान र रमाइलो खालको बनेको छ।
दशैंको अवसर पारेर सार्वजनिक गरिएको गीत विवाहको परिवेशमा आधारित छ। भिडियोमा फिल्मका मुख्य कलाकारहरूलाई एउटै फ्रेममा देखाइएको छ।
गीतमा मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराईलीलगायतका कलाकारहरूको नृत्य र अभिनय समेटिएको छ। दर्शकलाई नचाउने खालको यो गीतमा पाँच गायक–गायिकाले स्वर दिएका छन्। प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कँडेल, रचना रिमाल र सलिना बिकको स्वर सुन्न सकिन्छ।
गीतका शब्द दीपकप्रसाद आचार्य र अनिश अधिकारीले लेखेका हुन् भने संगीत संयोजन रिदम कँडेलको रहेको छ। नृत्य निर्देशन सुनिल क्षेत्रीले गरेका छन्।
सार्वजनिक कार्यक्रममा बोल्दै निर्माता, निर्देशक तथा कलाकारहरूले गीतलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन्।
दीपकप्रसाद आचार्यको निर्देशनमा तयार भएको फिल्म परान आगामी कात्तिक १४ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। ‘सासले होइन, साथले चल्ने’ भन्ने बटमलाइनसहित पारिवारिक कथामा आधारित फिल्मले साथ र आपसी सम्बन्धको महत्वलाई देखाउने निर्देशकको भनाइ छ।
फिल्मलाई बाइस्कोप सिनेमा प्रा.लि.ले आफ्नो ब्यानरमा निर्माण गरेको हो। व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको निर्माण साझेदारी रहेको फिल्मका निर्माता रञ्जित आचार्य र शेखर गोल्छा हुन्।
कथा दीपक आचार्यको रहेको फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका हुन्। छायांकन शिवराम श्रेष्ठले गरेका छन् भने सम्पादन मित्र डी. गुरूङले गरेका छन्। दसैं–तिहारपछि फिल्म देशभर प्रदर्शनमा आउन लागेको हो।














प्रतिक्रिया