सार्वजनिक बिदा काटियो, आजदेखि सरकारी कार्यालय खुला



काठमाडौं । गृह मन्त्रालयले विपत् जोखिम नहरेका जिल्लामा सोमबार सरकारी कार्यालयहरू सञ्चालन गर्न निर्देशन दिएको छ। यसअघि आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको थियो।

मनसुनको प्रभाव कम भएर मौसममा सुधार भएपछि सोमबार सरकारी सेवा सञ्चालन गर्ने निर्णय भएको हो। मनसुनजन्य विपत्को जोखिमका कारण गृह मन्त्रालयले १९ र २० असोजमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि मौसम सफा हुँदै गएपछि सोमबार भने कार्यालय खोल्ने निर्णय गरिएको हो ।

गृह मन्त्रालयले आइतबार ७७ जिल्ला प्रशासनलाई नै परिपत्र गरी विपत् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूले सार्वजनिक सेवा नियमित गर्न निर्देशन दिएको हो । सोहीअनुसार काठमाडौंसहित सबैजसो जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि सेवा सुरु गर्ने भएका छन् । अन्य सरकारी कार्यालयलाई समेत सेवा सञ्चालन गर्न भनिएको छ ।

विपदको जोखिमका कारण सोमबारसम्म लामो दूरीका यातायात बन्द गरिएपछि सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो । यातायात बन्द भएसँगै कर्मचारीहरूसमेत फर्कन समस्या हुने भएपछि बिदा दिने निर्णय भएको थियो । पूर्वी नेपालका केही जिल्लाबाहेक अन्यत्र आइतबारदेखि मौसममा सुधार भएपछि सोमबारदेखि सरकारी कार्यालय खोल्न लागिएको हो । यो वर्षको दसैँको नियमित बिदा १८ असोजसम्म थियो । वर्षाका कारण बिदा लम्बिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारको सार्वजनिक बिदा खारेज गरेको जनाएको छ। आइतबार राति १० बजे सूचना जारी गर्दै सोमबार बिहान १० बजे सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरूमा सेवा प्रवाह पुनः सुरु गर्न निर्देशन दिएको हो ।