काठमाडौं – जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले कांग्रेस, एमाले, माओवादीलगायत दलका अध्यक्षको सम्पत्ति छानबिन गर्ने भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शीर्ष नेताहरूको सम्पत्ति विवरण पठाउन विभिन्न निकायहरूलाई पत्राचार गरेको छ।
विभागले नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र भूमिसुधार तथा मालपोत विभागमा पत्राचार गरेर विवरण पठाउन भनेको छ ।
विभागले कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा र पुत्र जयवीर देउवाका नाममा रहेका बैंक खाता, सेयर कारोबार, जग्गाको विवरण मागेको हो । विभागले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हकमा पनि मागेको छ । निवर्तमान मन्त्री तथा कांग्रेस नेता दीपक खड्काका पनि यस्ता विवरण पठाउन भनिएको छ ।
स्रोतका अनुसार राष्ट्र बैंकमार्फत नेताहरूको विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाता र मौज्दात पठाउन पत्राचार गरिएको छ । यो पत्राचार दसैँ बिदाको अघिल्लो दिन १२ गते नै राष्ट्र बैंकलाई गरिएको छ । राष्ट्र बैंकबाट विवरण प्राप्त भएपछि खाता रोक्का गर्नेसम्मको तयारी छ । शीर्ष नेताको घरमा जलेका पैसामाथि अनुसन्धान चलिरहेको छ । यसको अहिले प्रहरीको फरेन्सिक ल्याबमा परीक्षण चलिरहेको छ ।














प्रतिक्रिया