काठमाडौं – प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले सोमबार राति बसेको सुरक्षा परिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीलाई दिएको जवाफबारे अहिले व्यापक चर्चा परिचर्चा भइरहेको छ । सुधन गुरुङलगायतको एउटा समूहले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिएपछि प्रधानमन्त्री कार्कीले प्रहरी महानिरीक्षक खापुङलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएकी थिइन् । तर खापुङले क्याबिनेटको लिखित निर्णय ल्याएमा आफू तयार रहेको जवाफ दिएका थिए ।
प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले सडकको आवाज र माग भन्दै हिंसा मच्चाउने, आगजनी गर्ने, प्रहरीलाई कुटीकुटी मार्नेलाई उन्मुक्ति दिएका छन् । तर निवर्तमान प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरेर थुनिहाल्ने सोच बनाएपछि महानिरीक्षक खापुङले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले जाँचबुझ आयोगको प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अघि बढाउन भनेपछि यो विषय अहिले मत्थर भएको छ । तर प्रहरीको खस्केको मनोबल अझै उठ्न नसकेको विभिन्न घटनाले देखाउँछ ।
जेनजी आन्दोलनका नाममा देशभरका प्रहरी कार्यालय जलाइए । निहत्था प्रहरीलाई कुटीकुटी मारियो । प्रहरीको बर्दी खोल्न लगाइयो । १२ सयभन्दा बढी हतियार खोसेर लगियो । अझै नौ सयभन्दा बढी हतियार फिर्ता भएका छैनन् । देशमा शान्ति सुरक्षामा खटिने प्रहरी आफैं असुरक्षित भएका छन् । तर प्रधानमन्त्री र गृहमन्त्री अझै विध्वंश मच्चाउनेको पक्षमा उभिएका छन् । यही कारण अहिले देशका विभिन्न ठाउँमा प्रहरीले दुव्र्यवहार र कुटपिट सहनु परेको छ ।
यस्तै एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । मकवानपुरको एक सडकमा ट्राफिक जाम खुलाउन खोज्दा एक युवकले ट्राफिक प्रहरीमाथि नै हातपात गरेका छन् । मोटरसाइकलमा रहेका ती युवकले मोटरसाइकलमै आएर ट्राफिक व्यवस्थापन गर्न खोजेका ट्राफिक प्रहरीमाथि हातपात गरेका हुन् । पछाडि अन्य यात्रुले नरोकेको भए त्यहाँ ठूलै दुर्घटना हुने थियो । यस्ता घटना देशका विभिन्न स्थानमा जेनजीका नाममा भइरहेकाले पनि प्रहरी संगठन बडो सकसको अवस्थामा छ । तर प्रधानमन्त्री र गृहमन्त्री भने आफूलाई यो अवस्थामा ल्याउने विध्वंशकारीको पक्षमा खडा भएका छन् ।














प्रतिक्रिया