आफूलाई पक्रेर देखाउन गृहमन्त्रीलाई महेश बस्नेतको चुनौती


काठमाडौं – एमाले नेता महेश बस्नेतले आफूलाई पक्रेर देखाउन गृहमन्त्री ओमप्रकाश अर्याललाई चुनौती दिएका छन् ।
एमाले मुख्यालय च्यासलमा बुधबार पत्रकार सम्मेलन गर्दै बस्नेतले जेनजी आन्दोलनका सबै दोषीलाई कारबाही गर्न माग पनि गरेका छन् ।

गृहमन्त्री अर्यालको नाम लिँदै बस्नेतले सरकारले राजनीतिक प्रतिशोध साध्न खोजेको आरोपसमेत लगाएका छन् । बस्नेतले जेनजी आन्दोलनका नाममा आपराधिक काम गर्नेविरुद्ध देशका सबै जिल्ला प्रहरी कार्यालयमा भोलिबाट जाहेरी दिने घोषणा गरेका छन् । बस्नेतले राष्ट्रिय युवा संघको अगुवाइमा जाहेरी दिने घोषणा गरेका हुन् ।

नेता बस्नेतले देशभरका पाँच सय प्रहरी कार्यालय जलाउने, सरकारी कार्यालयमा आगजानी र तोड्फोड गर्ने सबैको भिडियोसहित पहिचान भइसकेको भन्दै भोलिबाट उनीहरुविरुद्ध जाहेरी दिन सुरु गर्ने बताए ।

बस्नेतले जेनजी आन्दोलनमा हराएका हतियार फेरि पड्किन सक्नेतर्फ सचेत पनि गराएका छन् । भदौ २३ र २४ गते लुटिएका हतियारहरू फेरि पड्किए भने त्यसको परिणाम दुरूह हुन सक्ने उनको भनाइ छ ।

बस्नेतले काठमाडौंका मेयर बालेन शाह, हामी नेपालका प्रमुख सुधन गुरुङलगायतका विरुद्ध अनेरास्ववियुले उजुरी हालेको अवस्थामा समेत उनीहरूलाई पक्रिन चुनौती दिएका छन् ।