काठमाडौं – जेनजी आन्दोलनपछि प्रमुख दलका शीर्ष नेताहरू एकाधबाहेक कोही पनि सार्वजनिक कार्यक्रममा अझै फर्किन सकेका छैनन् । भदौ २३ को जेनजी आन्दोलनसम्म सबै दलका नेता आआफ्नै घरमा थिए । तर एकाएक १९ जनाको मृत्यु भएपछि सबै भयभित भए ।
कांग्रेस र एमालेको संयुक्त सरकार थियो । कांग्रेसमा सरकार छाड्ने दबाब धेरै थियो । तर भदौ २४ गतेको प्रदर्शनले हिंसात्मक रूप लियो । अघिल्लो दिनको भन्दा मानवीय र भौतिक सम्पत्ति २४ गते नै बढी क्षति भयो । २३ गतेको आन्दोलनमा माओवादी, रास्वपा, राप्रपालगायत दलका नेताहरू स्वस्फूर्त रूपमा लागेका थिए । किनकि कांग्रेस र एमालेको सरकारलाई दबाब दिनु थियो । सके ढाल्ने नभए गलाउने रणनीति थियो । तर जब प्रदर्शन विध्वंशमा परिणत भयो, तब रास्वपा र राप्रपाका एकसेएक नेताहरू सबै भूमिगत भए ।
भदौ २४ को प्रदर्शनमा रास्वपा र राप्रपाको घुसपैठ भएको पुष्टि भइसकेको छ । रास्वपाका नेता कार्यकर्ता सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकाल्न पुगेको घटनाले त त्यो पार्टीकै संलग्नतामा खर्बौंको सम्पत्ति जलेको र कारागार ब्रेक गरेर कैदीबन्दी फरार भएको देखिन्छ । रविलाई लिन रास्वपाको सिंगो नेतृत्व नै नख्खु कारागार पुगेको थियो । डीपी अर्याल, मनिष झा, हरि ढकाल, र ज्वाला संग्रौलाहरुले आगजनी र हिंसा गर्दै जेल ब्रेक गरेर रविलाई निकालेका थिए । त्यही सिको गर्दै देशभरका १७ कारागारबाट साढे १३ हजार कैदीबन्दी जेलबाट भागे। अझै पाँच हजारभन्दा बढी फरार छन् । उनीहरूकै कारण शान्ति सुरक्षा कायम गर्न चुनौती बढेको भन्दै प्रहरी अझैसम्म मनोबल गिरेको अवस्थामा छ । प्रहरीबाट लुटिएका हतियार देशका विभिन्न भागमा पुगिसकेको बुधबार कैलालीबाट पक्राउ परेका एक व्यक्तिबाट पुष्टि हुन्छ ।
कारागार ब्रेक गरेको आरोप लाग्ने र छानबिनमा तानिने भएपछि रास्वपाका डीपी अर्याल, मनिष झा, हरि ढकाल, ज्वाला संग्रौलालगायत सार्वजनिक रूपमा देखिएका छैनन् । यद्यपि बुधबार रास्वपाले सामूहिक पदयात्रा गर्दैछ । जेनजी आन्दोलनको एक महिनापछि रास्वपाले शान्ति पदयात्रा निकाल्न लागेको हो । तर पनि हजारौं कैदीबन्दी निकाल्ने नेतृत्व गरेको कलंकको टीका रास्वपाका नेतामाथि लागेको छ । रास्वपाका अपवादबाहेकका नेताहरू सामाजिक सञ्जालमा समेत देखिन र सुनिन छाडेका छन् ।
त्यस्तै, जेनजी आन्दोलनमा घुसपैठ गरी संसद् भवन र सिंहदरबार आगजनी गरेर शान्त देखिएको राप्रपा अहिले गुमनाम छ । यसका नेताहरू कहाँ के गर्दैछन् भन्ने कसैले भेउ पाउन सकेको छैनन् । हिजो दलको सरकार हुँदा हेलिकोप्टरबाट भाग्ने दिन आउँछ भन्ने राजेन्द्र लिङ्देन सार्वजनिक रूपमा नदेखिएको धेरै भइसक्यो । राप्रपाकै नेता ज्ञानेन्द्र शाही हिजो वैकल्पिक शक्ति भन्दै हिँड्थे, अहिले होटल होटलमा पत्रकार सम्मेलन गर्दै हिँडेका छन् ।














प्रतिक्रिया