काठमाडौं – जेनजी आन्दोलनले सत्तापलट गरेको एक महिना हुन लाग्यो । भदौ २३ र २४ को विध्वंशको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले एक महिना हुन लाग्दासम्म सरकारलाई पूर्णता दिन सकेकी छैनन् । उनले दुईपटक गरेर मन्त्रिपरिषद् सदस्य सात बनाएकी छन् । तर अझसम्म परराष्ट्र र रक्षा जस्तो संवेदनशील मन्त्रालयमा नेतृत्व आउन सकेको छैन । कार्की आफैंले जिम्मेवारी बहन गरेकी छन् ।
कार्की सरकारको मूल दायित्व फागुन २१ गतेभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने हो । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको विज्ञप्तिमा सोही विषय उल्लेख छ । तर एक महिना हुन लाग्दासम्म प्रधानमन्त्री कार्की दलीय सहमतिका आधारमा चुनाव गराउन तयार देखिएकी छैनन् । बरु जेनजी आन्दोलनका हाइज्याकर सुधन गुरुङको निर्देशनमा उनी चल्न खोजेको प्रस्टै देखिन्छ ।
कार्कीले भ्रष्टाचार रोक्न पाँच दिनको समय काफी हुने बताएकी थिइन् । ०७५ पुस २६ गते श्रीमान् दुर्गा सुवेदीलाई समेत छेवैमा राखेर एउटा मिडियालाई लामो अन्तर्वार्ता दिँदै उनले ‘चुट्कीको भरमा’ भ्रष्टाचार रोक्ने बताएकी थिइन् । अहिले आफैँ सरकार प्रमुखको कुर्सीमा रहेकी कार्कीले पाँच दिन हैन एक महिना हुन लाग्दा पनि भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चालेकी छैनन् । जसकारढण विभिन्न समूहमा रहेका जेनजीका प्रतिनिधिहरूले हरेक दिनजसो बालुवाटार पुगेर भ्रष्टाचारीलाई कारवाही गर्न दबाब दिने गरेको खबर सार्वजनिक भइरहेको छ ।
फागुनको चुनाव आउन अब पाँच महिना बाँकी छ । यो थोरै समय त होइन । तर चुनाव हुन दलहरूसँग संवाद जरुरी हुन्छ । तर प्रधानमन्त्री कार्की भने दलसँग कुनै संवाद नै नगरी तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई पक्राउ गर्न प्रहरीलाई दबाब दिइरहेकी छन् । सुधन गुरुङलगायतका हामी नेपालका प्रतिनिधिले दिएको धम्कीबाट डराएर कार्की ओली र लेखकलाई पक्राउ गर्न खोज्नुले उनी राजनीतिक स्थिरता होइन, मुठभेड निम्त्याउन उद्यत रहेको विश्लेषण हुन थालेको छ ।
सुरक्षा निकायका प्रमुखहरूले न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा मात्र कारबाही गर्न उपयुक्त हुने सल्लाह र सुझावलाई बेवास्ता गर्दै कार्कीले तत्काल पक्राउ गर्न भनेपछि प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले लिखित आदेश माग गरेको समाचार सार्वजनिक भएको छ । यदि अहिलेको अवस्थामा कसैले भनेकै आधारमा ओली र लेखकलाई पक्राउ गरे एमाले र कांग्रेस सडकमा आउने निश्चित छ । जसले शान्ति होइन, झन द्वन्द्व बढ्ने देखिन्छ ।














प्रतिक्रिया