काठमाडौं – एमालेले गृहमन्त्री ओमप्रकाश अर्यालले राज्यविरुद्धको अपराध गरेको भन्दै तत्काल गिरफ्तार गर्न माग गरेको छ । एमाले नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा वर्तमान गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरेर कारबाही गरिनुपर्ने माग गरेका हुन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्री अर्याल व्यक्तिका घर, व्यावसायिक भवन तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उत्प्रेरक रहेको दाबी गर्दै उनले गृहमन्त्रीलाई गिरफ्तार गर्नुपर्ने बताएका हुन्।
‘प्रहरीबाट लुटिएका हतियारहरु (बन्दुक र गोली) कहाँ र को सँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीलाई शतप्रतिशत रहेको हुनुपर्दछ। किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागसहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र सुनियोजित घुसपैठ गरि शान्ति भंग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन,’ बर्तौलाले फेसबुकमा लेखेका छन्, ‘हाम्रो इतिहास, सम्पदा र दस्तावेज छानीछानी नष्ट गर्ने, ब्यक्तिका घर, ब्यवसायिक भवनहरु तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरकसमेत हुन्।
बर्तौलाले अर्याल सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकी लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका विरुद्ध परिचालित र निर्देशित मतियारसमेत भएको आरोप लगाएका छन्। ‘शुद्ध नेपाली जेनजीहरुले पनि यो कुरा बुझुन् कि शान्तिपूर्ण आन्दोलनभित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरिकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए र शपथ ग्रहणलगत्तै माथि उल्लेखित फौजदारी अपराध प्रकरणमा संलग्न दोषी र अपराधीहरूलाई प्रयाप्त प्रमाण रहँदारहँदै पनि कानुनी कारवाही नगर्न लिखित निर्देशन नै दिए,’ बर्तौलाले भनेका छन्, ‘जसका कारण अहिले मुलुकमा अराजकता, दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरु ह्वात्तै बढेर गएको छ। त्यसैले सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरुका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रुपमा रहेका अहिलेका गृहमन्त्रीलाई पदबाट बरखास्त गरि राज्यबिरुद्धको अपराधमा तत्काल गिरफ्तार गरि अनुसन्धान प्रकृया अगाडी बढाइनुपर्छ।
अर्याल जेनजीको नाममा अगाडि आएको एउटा समूहको माग सम्बोधन गर्नुपर्ने भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न चाहन्छन् । तर प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आपत्ति जनाएपछि अहिले अर्याल उनलाई नै हटाउन लागिपरेका छन् ।














प्रतिक्रिया