काठमाडौं । माओवादी मूलधारको राजनीतिमा आएपछि सबैभन्दा बढी लाभ लिनेमा कृष्णबहादुर महरा पर्छन् । उनी प्रतिनिधि सभाको सभामुखसहित पूर्वउपप्रधान एवं गृह, अर्थ, परराष्ट्र र सञ्चारमन्त्री बनिसकेका छन् । २०६४ यता बनेका सरकारमा माओवादी सामेल हुँदा महरा हत्तपत्त छुट्दैनथे ।
तर जीवनको उत्तराद्र्धमा महरा निकै विवादमा तानिए । महिलाकाण्डले उनको सभामुख पद नै गयो । तीन महिना हिरासतमा बसे । अहिले सुनकाण्डले बुढेसकालमा छिँडीको बास हुने सम्भावना प्रबल छ । चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख महरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएका छन् । विद्युतीय चुरोट (भेप)मा लुकाएर तीन वर्षअघि सुन तस्करी गराएको प्रकरणमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट सिलसिलेवार रुपमा उन्मुक्ति पाएका महरामाथि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।
महरासँग सुन तस्करी प्रकरणमा अख्तियारले बिहीबार टंगालस्थित कार्यालयमा बोलाएर बयान लिएको छ । भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर, सत्ता–शक्ति आडमा उनीमाथि मुद्दा चलेको थिएन । त्यसबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए । पछि पुनः अनुसन्धानमा तानिएका उनी अनुसन्धानकै क्रममा हाजिरी जमानीमा छुटेका थिए ।
महरा दुईपटक प्रहरी अनुसन्धानमा तानिएका थिए । पहिलोपटक मुद्दै चलाइएन, दोस्रो पटक २०८० चैत ५ मा उनी कपिलवस्तुबाट पक्राउ परेका थिए । पक्राउलगत्तै उनलाई काठमाडौंस्थित केन्द्रीय अनुसन्धान ब्युरो ल्याएर अनुसन्धान अघि बढाइएकामा अनुसन्धानमै रहँदा त्यसको पाँच दिनपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महरालाई हाजिरी जमानीमा छाडेको थियो । त्यसपछि अनुसन्धान नै रोकिएकामा अख्तियारले अहिले पुनः अनुसन्धान अघि बढाइएको हो ।
महरासँग शुक्रबार दिनभर अख्तियारका अनुसन्धान अधिकृतले बयान लिएका छन् ।
महराले अख्तियारको बयानमा आफ्नो दावाजिनसँग चिनजान रहेको र चिनेजानेकै हिसाबले भन्सारका कर्मचारीलाई भेप छुटाउन फोन गरेको स्वीकार गरेका छन् ।
चिनियाँ नागरिक दावाजिन वाङसँग मिलेर अवैध सुन तस्करी गराएको आरोपमा २०७९ मा महरा अनुसन्धानमा तानिएकामा सीआईबीले उनको संलग्नता पुष्टि नभएको निष्कर्षसहित विमानस्थल भन्सारका कर्मचारी र गिरोह तथा महराका छोरा राहुललाई मात्रै प्रतिवादी बनाएर फरकफरक दुईवटा मुद्दा दायर गरिएकामा अहिले पूर्वसभामुख महरा र तस्करीमा जोडिएका कर्मचारीहरु अख्तियारको अनुसन्धानमा तानिएका हुन् ।
चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब नौ केजी सुन लुकाएर ल्याएका थिए। भेप जाँचपास गर्दा शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार गोदाममा राखेर थप अनुसन्धान अघि बढाइएको थियो ।














प्रतिक्रिया