जीवित र मृतक दुवैतिर विपिनको नाम नभएपछि बढ्यो चिन्ता


काठमाडौं । इजरायल र हमासबीच शान्ति सम्झौता भएसँगै गाजामा बन्धक रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा जागेको छ। अमेरिकाको प्रस्तावअनुसार इजरायल र हमासबीच भएको सहमतिमा सबै बन्धक रिहा गर्ने कुरा उल्लेख छ। सोमबार हमासले बन्धक बनाएका जीवित र मृतकको शवसमेत बुझाइने भएको छ ।

तर नेपाली विद्यार्थी विपिनको वर्तमान अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन। सीएनएनको पछिल्लो रिपोर्टमा पनि विपिनको स्थिति अज्ञात भनिएको छ। जीवित २० र मृतक २६ जनाको सूची दुवैतिर विपिनको नाम उल्लेख नभएपछि चिन्ता बढेको हो ।
सीएनएनका अनुसार इजरायली सरकारले ४८ बन्धकमध्ये २६ जनाको मृत्यु भइसकेको बताएको छ भने नेपाली नागरिक विपिन र इजरायली नागरिक तामिर निम्रोदीको स्थिति अज्ञात भनेको छ।

बुधबार राति मात्र विपिनको पुरानो भिडिओ सार्वजनिक गरिएको थियो। त्यो भिडिओ उनी अपहरण भएको केही समयपछि खिचिएको थियो। जसमा उनले आफू नेपालबाट कृषिको सिक्दै, कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल आएको बताएका छन्।

जोशीको परिवारले हालै इजरायली सेनाले गाजाबाट फेला पारेको भिडियोमा विपिनलाई जीवित देखिएको पुष्टि गरेको छ। यो भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान छ। बन्धक परिवारको फोरमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘भिडियोलाई देखेपछि हामीलाई अझ दृढ विश्वास भएको छ कि विपिन जीवित छन्।’ इजरायली अधिकारीले यसअघि उनको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए।