पार्टी नेतृत्व नछाड्ने प्रचण्डको घोषणा


काठमाडौं । माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूले नेतृत्व नछाड्ने बताएका छन् । उनले आफ्नो नेचर नेतृत्व छाड्ने, निष्क्रिय बस्ने, पलाउन हुने र रिटायर्ड लाइफ बिताउने खालको नभएको उनको भनाइ छ ।

‘मैले इतिहासमा गरेका आन्दोलनहरू, भूमिका, नेतृत्वहरू र मेरो नेचरले पनि म निष्क्रिय बस्ने, पलायन हुने, रिटायर्ड लाइफ बिताउने होइन । मेरो नेचरले पनि दिँदैन, इतिहासको आवश्यकताले पनि दिँदैन। तर म अध्यक्ष, पार्टीको प्रमुख भइराख्नुपर्छ भन्नेमा अब छैन,’ शुक्रबार सम्पादकसँग संवादमा प्रचण्डले भने ।

उनले आफूलाई एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग तुलना गर्दै तीनैजना एउटै हुन् भन्ने भाष्य निर्माण गरिएकोमा चित्त दुखेको बताए । ‘अहिले एउटा भाष्य बनाइएको कि तीन नेता एउटै हुन्, त्यसमा चित्त दुखेको छ,’ प्रचण्डको भनाइ छ, ‘सरकारमा रहँदा बिचौलिया र भ्रष्टाचारीहरुको सेटिङ भत्काउने पनि उस्तै, अनि संविधान मिचेर सरकार बनाउने र बिचौलियालाई संरक्षण गर्ने पनि उस्तै, कहाँ हुन्छ त यस्तो ?’ उनले भने ।

एमाले र कांग्रेसलाई समेत आत्मसमीक्षा गर्न आग्रह गर्दै माओवादीले राजनीतिक अवरोधको कारण नै सत्ता स्वार्थ र राजनीतिक बेइमानी भएको निश्कर्ष निकालेको छ । ‘हामी को हौँ भन्ने कुरा तपाईंहरूलाई थाहा नहोला भन्न सकिन्न, तर पनि गम्भीर भएर छुट्याउनुपर्छ। जसले नेतृत्व छाड्न तयार भएर केन्द्रीय समिति नै भंग गरिसक्यो, त्यो पनि उस्तै ? अनि जो भन्छ— नमर्दासम्म नेतृत्व छाड्दिनँ— त्यो पनि उस्तै हो त ?’ प्रचण्डले भने ।

राष्ट्रिय सहमति जुटाएर फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्ने, जेनजी आन्दोलनको भावना समेट्नेगरी संविधान संशोधन गर्ने र खरानी भएका ऐतिहासिक सम्पदाहरू पुनःस्थापना गरिने उनले बताए ।