दसैँमा प्रदर्शन भएका तीन फिल्मले कस्तो व्यापार गरिरहेका छन् ?

दसैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि नेपालभर प्रदर्शनमा आएका तीन फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ ले ११ दिनसम्मको व्यापारिक तथ्यांक हेर्दा उत्साहजनक देखिएको छैन ।


काठमाडौँ । दसैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि नेपालभर प्रदर्शनमा आएका तीन फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ ले ११ दिनसम्मको व्यापारिक तथ्यांक हेर्दा उत्साहजनक देखिएको छैन । चलचित्र विकास बोर्डको ‘बक्सअफिस @ सिनेमा’ एपका अनुसार, यी फिल्मले असोज २३ गते राति ११:५९ बजेसम्म सन्तोष सेनको निर्देशनमा बनेको फिल्म ‘बलिदान’ले रु. ४ करोड ४२ लाख (ग्रस कलेक्सन) व्यापार गरेको छ । समीर भट्ट, सौगात मल्ल, अर्पण थापा र ऋचा शर्मा अभिनीत यो फिल्मले समीक्षकबाट राम्रो नपाएता पनि चर्चाका कारण सुरुआती व्यापार राम्रो गरेको थियो ।

दीपेन्द्रकुमार खनालद्वारा निर्देशित र हरिवंश आचार्यको शीर्ष भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ले रु. ३ करोड ९० लाख (ग्रस कलेक्सन) व्यापार गरेओ छ । स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी र राजाराम पौडेलजस्ता कलाकारको अभिनय रहेको यो फिल्मले दोस्रो स्थानमा छ ।

रोहित अधिकारीको निर्माण र मिलन तामाङको निर्देशनमा बनेको फिल्म ‘माइतीघर’ले एघार दिनमा रु. २ करोड ८५ लाख (ग्रस कलेक्सन) व्यापार गरेको छ । केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर र प्रकाश सपुत अभिनीत यो फिल्मले पछिल्लो समय मोफसलमा दर्शकको राम्रो साथ् पाइरहेको छ । दसैंको बिदाले फिल्मको व्यापारमा सहयोग गरे पनि अघिल्लो वर्षको तुलनामा यी तीन फिल्मको कुल व्यापार कमजोर देखिएको छ ।