काठमाडौं । इजरायलले हमासको अपहरणमा परेका नेपालका विपिन जोशीसहित २२ जना बन्धक अझै जीवित रहेको हुन सक्ने जनाएको छ । पछिल्लोपटक सार्वजनिक भएको सूचीमा विपिनको नाम समावेश गरिएको समाचार संस्था एपी र टाइम्स अफ इजरायलले जनाएको हो ।
पछिल्लो सूची सार्वजनिक भएसँगै विपिन जीवित रहेको अनुमान गरिएको छ । दुई दिनअघि सार्वजनिक सूचीमा भने उनको नाम परेको थिएन । गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कृषि अध्ययनका लागि पुगेका बेला विपिन २५ महिनाअघि हमासको बन्धक बनेका थिए ।
अध्ययनका लागि इजरायल पुगेका १७ नेपाली विद्यार्थीमध्ये १० जनाको आक्रमणका क्रममा मृत्यु भएको थियो । जोशीका रिहाइका लागि अन्तर्राष्ट्रिय समुदाय र परिवारले समेत निरन्तर पैरवी गर्दै आएका छन् । इजरालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार २० देखि ४८ वर्ष उमेरका व्यक्तिहरु जीवित रहेको अनुमान गरिएको छ । विपिनको नाम सूचीमा देखेपछि उनको परिवारमा खुसी छाएको छ ।
शुक्रबारदेखि लागू भएको युद्धविरामअनुसार सोमबारदेखि मंगलबारसम्म बन्धकहरू रिहा हुने छन्। इजरायलले सोही सन्दर्भमा दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। विपिनसहित २२ जना बन्धक जीवित अवस्थामा रहेका र उनीहरूलाई फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।














प्रतिक्रिया