बालेन र सुदनलाई २४ घन्टाभित्र पक्राउको माग गर्दै नेविसंघले प्रहरीमा दियो उजुरी


काठमाडौं । एमालेनिकट अखिलपछि कांग्रेस विद्यार्थी संगठन नेविसंघ पनि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध उत्रिएको छ । नेविसंघले आइतबार दुवैविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

नेविसंघले गत भदौ २३ र २४ भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमाथि अनुसन्धानको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको हो ।
विद्यार्थीहरुलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा उनीहरुमाथि अनुसन्धान हुनुपर्ने नेविसंघको माग छ ।

उजुरीकर्तामा नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाह छन् । उनीहरुले २४ घण्टाभित्र बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धानको माग राखेका छन् । यसअघि अखिलले काठमाडौं उपत्यकासहित देशैभरिबाट बालेन र सुदनविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।