चलचित्र “मुगलान’को पहिलो लुक सार्वजनिक, प्रभात र स्मारिकाको गाउँले प्रेम


काठमाडौं – रेहान प्रोडक्सनको ब्यानरमा निर्मित नेपाली फिल्म ‘मुगलान’ आगामी पुस १० गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले सोमबार फिल्मको पहिलो लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल बाँसुरी बजाउँदै गरेका छन् भने अभिनेत्री स्मारिका ढकाल लजालु मुद्रामा देखिएकी छन्, जसले उनीहरूबीचको गाउँले प्रेमकथा झल्काउँछ । पोस्टरले नेपाली गाउँ–समाज, प्रेम र परदेशी जीवनको पृष्ठभूमिलाई सजीव ढङ्गले प्रस्तुत गरेको छ।

फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोलालगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको लेखन र निर्देशन आशिष ढकालले गरेका हुन् भने गोमन सिंह निर्माता र रिता चौधरी सह–निर्माता हुन्।
सम्पादन तारा थापा ‘किम्भे’, द्वन्द्व निर्देशन जय बिष्ट र राम गुरु, पाश्र्व संगीत रिदम कँडेल, र कोरियोग्राफी देबेन्द्र कुँवरले गरेका छन्।

छायांकन अजय रेग्मीको छ भने संगीत किरण भुषालको रहेको छ। गीतमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल र हरि गिरी (विमर्शी) को स्वर छ।

निर्माण टोलीका अनुसार ‘मुगलान’ ले युवाहरूको परदेशको सपना, गाउँको प्रेम र संघर्षको कथा उजागर गर्छ।
फिल्मको वितरण आर आर फिल्म्सले गर्ने भएको छ।