कांग्रेस केन्द्रीय समिति बैठकमा देउवाले भने– जेनजीले उठाएका माग पूरा गर्नुपर्छ


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्भवतः सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेका छन् । उनले स्वास्थ्यको कारण देखाउँदै पार्टी कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका छन् । नेपाली कांग्रेसको इतिहासमा कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेपछि कुनै पनि सभापति फेरि राजनीतिमा फर्किएका छैनन् । त्यसमाथि देउवा त दोस्रो कार्यकाल सभापति भइसकेकाले तेस्रो कार्यकालमा उठ्न पाउँदैनन् ।

उनले आफूले १५औं महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा घोषणा नै गरे । विगतमा देउवाले केन्द्रीय सदस्यहरूको धारणा सुनिसकेपछि सम्बोधन गर्ने गर्थे । आज भने उनले समसामयिक राजनीतिक धारणा लिखित रूपमै सम्बोधन गर्दै केन्द्रीय समिति बैठक स्थगित गरेका छन् ।

अब बिहीबारदेखि कांग्रेसको केन्द्रीय समिति बैठक निरन्तर बस्नेछ । देउवाले सक्रिय सभापतिको रूपमा मंगलबार भावुक सम्बोधन गरे । आफूलाई लागेको कुरा, देश र राजनीतिबारे परिपक्व धारणा राखे । सुरुमै भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । जेनजीले उठाएका माग पूरा गर्नुपर्ने बताए ।

आन्दोलनमा घुसपैठ भएको भन्दै निष्पक्ष छानबिनको माग गरे । देउवाले प्रधानमन्त्री र पार्टी सभापतिको रूपमा काम गर्दै जाँदा केही कमीकमजोरी र गल्ती भएको भए त्यसमा माफी मागे । आन्दोलनका बेला आफूलाई ज्यान मार्न खोजिएको र त्यहाँबाट बचेर केन्द्रीय समिति बैठकमा आउन सकेको भन्दै आफ्नो स्वास्थ्यबारे चासो राख्ने सबैलाई धन्यवाद दिए । आफ्नो ज्यान बचाउन सहयोग गरेको भन्दै सुरक्षाकर्मीलाई विशेष धन्यवाद दिँदै उनले भने, ‘जीवनभर स्मरण गरिरहनेछु ।’ देउवाले कोही कसैलाई आक्षेप र आरोपसमेत लगाएनन् ।

देशको अहिलेको अवस्था तरल भएको भन्दै सरकार चुनावप्रति गम्भीर नभएको बताए । उनले निर्वाचन वैधानिक व्यवस्थाका लागि अनिवार्य भए पनि अहिले त्यो वातावरण नभएको बताए । उनले जेनजी आन्दोलनका बेला राष्ट्रपति रामचन्द्र पौडेलले परिपक्व भूमिका खेलेको भन्दै धन्यवाद दिए । आफूलाई नेतृत्वबाट हटाउन खोज्नेप्रति पनि देउवा आक्रमक देखिएनन् । उनले आफू १५औं महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरे ।

‘म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैं एकै जना मुली रहँदैन, पार्टीमा पनि हमेसा एकैजना सभापति रहिरहँदैन । जहाँसम्म मेरो विषय छ– मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्छु भनिसकेको छु । आगामी १५औं महाधिवेशनबाट मबाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ, त्यसमा द्विविधा छैन,’ देउवाले भने ।