एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेतालाई तीन मिनेट बोल्ने समय


काठमाडौँ – एमालेको १०औँ केन्द्रीय कमिटी बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा बुधबार बिहान ११ बजेदेखि बस्दैछ ।

पार्टी अध्यक्ष केपी ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि नेताहरूले बोल्ने क्रम सुरु हुनेछ । ओलीको प्रतिवेदनमा समसामयिक राजनीति, जेनजी आन्दोलन, घुसपैठ, व्यक्ति र सार्वजनिक सम्पत्तिको तोडफोड, अन्तरिक सरकार गठन, संसद विघटनलगायतका विषय समेटिने छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार नेताहरूलाई तीन मिनेट बोल्ने समय छुट्याइएको छ । ओलीको राजनीतिक प्रतिवेदनमाथि प्रादेशिक रूपमा इच्छुक केन्द्रीय सदस्यलाई धारणा राख्ने तीन मिनेटको समय छुट्याइएको उनको भनाइ छ ।

बैठकले पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको समय र स्थान तोक्ने छ । असोज २४ र २६ गते बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय सदस्यहरूलाई अल्फाबेटिकल आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ ।