जेनजी आन्दोलनको एक महिनापछि सहर पसे ओली


काठमाडौं – जेनजी आन्दोलनको एक महिनापछि एमाले अध्यक्ष केपी ओली सहर पसेका छन् । एमाले केन्द्रीय कमिटी बैठकका लागि उनी बुधबार बिहान ललितपुरको जावलाखेलस्थित रामबाघ महल आएका छन् ।

जेनजी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री ओली सेनाको हेलिकोप्टर चढेर भागेका थिए । उनलाई सेनाले मकवानपुरको चनवन ब्यारेकमा लगेर राखेको थियो । पछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई हेलिकोप्टरमा शीतल निवास ल्याएका थिए । केही दिन नेपाली सेनाको सुरक्षा घेरामा बसेका ओली त्यतैबाट भक्तपुरको गुन्डु पुगेका थिए । उनी त्यहीँ घरभाडा लिएर बस्दै आएका छन् । ओली गुन्डुबाट पहिलोपटक बाहिर निस्केका हुन् ।

गुन्डुमा ओलीलाई एमाले नेता महेश बस्नेतले सुरक्षा दिएर राखेका छन् । गुन्डु बस्नेतको आफ्नै गाउँ हो । ओली सेनाको सुरक्षा घेरामा बसेका बेला बस्नेतले गुन्डुमा ओलीलाई ल्याउन उनी अहिले बसेको ठाउँका पाँच सातवटा घरका कोठावाललाई अन्यत्र सार्न लगाएका थिए ।

नेपालको इतिहासमा ओली भगौडा प्रधानमन्त्रीका रूपमा परिचित भएका छन् । उनको नाम हेलिकोप्टर चढेर भागेको प्रधानमन्त्रीका रूपमा लेखिनेछ । आफू प्रधानमन्त्री हुँदा दुई दुईपटक संसद् विघटन गरेका ओली अहिले अहिले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिएका छन् । त्यसका लागि उनले पार्टीलाई आन्दोलनका लागि तयार पारेका छन् । जेनजी आन्दोलनपछि पार्टीमा नेतृत्व हस्तान्तरणको आवाज उठे पनि ओलीले त्यसलाई सिधै अस्वीकार गरेका छन् । उनले आफूले सकिञ्जेल अध्यक्ष चलाउने घोषणासमेत गरेका छन् ।

तर जेनजी आन्दोलनका कारण सुरक्षाका कारण बाहिरसमेत निस्किन नसकेका ओलीले अब पनि पार्टी नेतृत्वमै रहे भने एमालेलाई चुनावमा निकै असर पुग्ने नेताहरुकै भनाइ छ ।