एमाले बैठकमा ओलीले भने, मलाई कसैले बोक्नु पर्दैन, आफैं दौडन सक्छु


काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले आफूलाई अध्यक्ष पदबाट हटाउन चुनौती दिएका छन् । बुधबारबाट सुरु केन्द्रीय कमिटी बैठकमा उनले केन्द्रीय कमिटीमा बहुमतले हटाउन उनले चुनौती दिए ।

ओलीले पार्टी नेतृत्वबाट राजीनामा माग गर्नेहरुलाई बहुमत सख्या पु¥याउन खुल्ला चुनौती पनि दिएका छन् । केन्द्रीय कमिटीको बुधबारको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले आफू विधि र वैधानिक प्रक्रिया मान्न तयार रहेको भन्दै बहुमत जुटाउन चुनौती दिएका हुन् ।

केन्द्रीय सचिवालय बैठकमा केही नेताहरुले सरकारको नेतृत्वमा रहेका कारण जेनजी आन्दोलनमा भएको क्षतिको नैतिक जिम्मेवारी लिएर पार्टी अध्यक्षबाट राजीनामा दिन ओलीलाई सुझाव दिएका थिए । केन्द्रीय कमिटी बैठकमा पनि त्यस्तो सुझाव आउनसक्नेतर्फ संकेत गर्दै राजीनामा माग्ने नेताहरुलाई उनले खुल्ला चुनौती दिएका छन् ।

‘घर जले पनि, मारिने अवस्था सिर्जना हुँदा पनि केपी ओलीले अँध्यारो मुख लगाउन जानेको छैन । केपी ओली हट्नुपर्छ भनेका बेला एकदम खुसीसाथ फेरि पनि कमरेडहरुको आदेशमा हट्न तयार छ । यो आदेश दिने ठाउँ हो, यसको आदेशमा गर्न सक्छु । तर कमिटीमा बसेका कोही पनि सदस्यले कमिटी बाहिर गएर, अखबारवाजी गरेर, लोकप्रियतावादका पछि कुदेर के लोकप्रियतावाद हुन्छ,’ ओलीले भने, ‘कतिपय साथीहरुले मलाई भन्नुहुन्छ, तपाईंलाई बोकेर जानै सकिँदैन । किन बोक्नुप¥यो ? म आफैं हिँड्छु । हिँड्न नसक्ने होइन, दौडन सक्ने अवस्थामा छु । बोक्नुपर्दैन । प्रश्न के हो, केन्द्रीय कमिटीले के भन्छ, महाधिवेशनले के भन्छ । व्यक्तिगत इच्छा पूरा गर्न म हिँडेको होइन । यो देशको इच्छा पूरा गर्ने अगुवाइ यो पार्टीले गर्छ, पार्टीले जे भन्छ, त्यही हुन्छ । हट्ने पनि विधि र प्रक्रिया हुन्छ ।

केन्द्रीय कमिटी बैठकमार्फत ओलीले ११औं महाधिवेशनपछि पनि आफैं अध्यक्ष हुने संकेत गरेका छन् । ओलीले बहुमतका नाममा पेलेरै जान लागेपछि नेताहरु अन्योलमा परेका छन् । जेनजी आन्दोलनपछि एमालेमा नेतृत्व हस्तान्तरणको आवाज उठ्दै आएको छ ।

तस्बिर एमालेको सचिवालय बाट