पार्टीमा विद्रोह हुने देखेपछि माधव नेपाल बैठक राख्नै डराए


काठमाडौं – एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले बिहीबारका लागि भर्चुअल बैठक तय गरेको थियो ।

बैठक स्थगित गर्दै कात्तिक १२ र १३ मा भौतिक रूपमै केन्द्रीय कमिटी बैठक बस्ने तय भएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

समाजवादी मोर्चामा रहेका दलहरूबीच पार्टी एकताको गृहकार्य भइरहेका बेला एकीकृत समाजवादीले पूर्वनिर्धारित बैठक स्थगित गरेको हो । एकीकृत समाजवादीमा माओवादीसँग पार्टी एकताबारे मतभेद रहँदै आएको छ ।

अध्यक्ष माधवकुमार नेपाल जसरी भए पनि माओवादीसँग पार्टी एकता गर्ने पक्षमा छन् । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको डिजाइनअनुसार चलेको आरोप लागेको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माओवादीसँग पार्टी एकता अस्वीकार गरेका छन् । श्रीमतीको उपचारमा भारतमा रहेका खनालले उतैबाट विज्ञप्ति जारी गर्दै पार्टी एकता नगर्न दबाब दिएका हुन् ।

महासचिव घनश्याम भुसाल, रामकुमारी झाँक्री पनि प्रचण्डको पार्टीसँग मिल्न लागेकोमा खुसी छैनन् । यदि माधव नेपालले प्रचण्ड बोकेमा एकीकृत समाजवादीका धेरै नेता कार्यकर्ता एमाले पस्ने सम्भावना रहेको बताइन्छ । त्यही कारण विवाद हुने भएपछि माधव नेपाल तिहारअघि पार्टीको बैठक राख्न डराएका हुन् ।