गणेश शाहले छाडे माओवादी, प्रचण्डले कुरै नसुनेको गुनासो


काठमाडौं – माओवादी सचिव गणेश शाहले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार माओवादी परित्याग गरेको घोषणा गरेका हुन् ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘समय सन्दर्भ’मा बोल्दै उनले राजनीतिबाट अवकाश लिएको बताए । योसँगै माओवादीसमेत छाडेको बताउँदै उनले भनेका छन्, ‘अब म माओवादीको नेता रहिनँ, सदस्य पनि रहिनँ ।’ उनले जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ख्याल गर्दै राजनीतिबाटै अवकाश लिएको बताए ।

साह भंग भएको माओवादी केन्द्रीय समितिमा सचिव पदमा थिए । पूर्व विज्ञानमन्त्रीसमेत रहेका उनी एकता प्रक्रियाबाट माओवादीमा आएका थिए ।

नेतृत्वले एकता र जनता सापेक्ष निर्णय नगरेको भन्दै माओवादी छोडेको उनको भनाइ छ । उनले अब आफू कुनै पार्टीमा नजाने पनि बताएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिल्यै पनि आफूहरूको कुरा नसुनेको उनले गुनासो गरे । प्रचण्ड भने अहिले अन्य पार्टीसँग एकता गरेर माओवादीलाई अघि बढाउने धुनमा छन् ।