काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले एक महिनापछि शुक्रबार विदेशी कूटनीति र राजदूतलाई ‘ब्रिफिङ’ गर्दैछिन् । एक महिनासम्म परराष्ट्रमन्त्री नियुक्त गर्न नसकेकी कार्कीले परराष्ट्रमन्त्रीको हैसियतमा आफैंले ‘ब्रिफिङ’ गर्न लागेकी हुन् ।
नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ का लागि उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाएकी छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार आज दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्नेछ । बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरूलाई बोलाइएको छ ।
बैठकमा नेपालको समसामयिक अवस्थाका साथै अन्तरिक सरकारले २१ फागुनमा तोकेको प्रतिनिधि सभा निर्वाचनलगायतका बारेमा छलफल, परामर्श र ब्रिफिङ हुनेछ । प्रधानमन्त्री नियुक्त भइसकेपछि प्रधानमन्त्री कार्कीले यसप्रकारको बैठक पहिलोपटक बोलाएकी हुन् ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्ति भएकी कार्कीले संसद् विघटन गरेपछि निर्वाचन घोषणा भएको थियो । विदेशीलाई ‘ब्रिफिङ’ गर्नुअघि अन्तरिम सरकारले सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। जसले गर्दा अन्तरिम सरकारको भित्री स्वार्थ के हो भन्ने अझै स्पष्ट हुन सकेको छैन ।
चुनावी सरकारले किन राजदूत फिर्ता बोलाएको हो भन्ने अझै खुलिसकेको छैन । यस्तो संवदेनशील अवस्थामा विदेशमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाउनुले अन्तर्राष्ट्रिय रूपमा सकारात्मक सन्देश नजाने निश्चित छ । संविधानमा राजदूत नियुक्ति सिफारिस भई संसदीय सुनुवाइ हुनुपर्ने उल्लेख छ । संसद् नभएको अवस्थामा अध्यादेशबाट राजदूत नियुक्त गर्न सकिने छ । तर त्यो अध्यादेश ६ महिनापछि संसदबाट पारित गर्नुपर्छ । अहिलेको अवस्थामा त्यो कुनै पनि हालतमा सम्भव छैन । त्यसैले वर्तमान सरकार राज्यका सबै निकाय अस्थिर बनाउन उद्यत रहेको देखिन्छ ।














प्रतिक्रिया