काठमाडौं । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने मागसहित जेनजी आन्दोलनमा उत्रिएका मिराज ढुंगानाले पनि पार्टी खोल्ने भएका छन् । शनिबार दिउँसो १ बजे होटेल एभरेस्टमा पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागेको उनले बताएका छन्। टिकटकमा एक भिडिओ सार्वजनिक गर्दै ढुंगानाले पार्टी खोल्नै पर्ने अवस्था आएको र त्यसका लागि वार्ता समितिले काम गरिरहेको बताएका छन् ।
‘राजनीतिक दल खोल्नुको अर्थ यो हैन कि हामी देशको अहिले भएकै अवस्थामा चाहिँ निर्वाचनमा जान्छौँ,’ उनले भनेका छन्, ‘जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रणको लागि नागरिक तहको निकाय बन्दैन तबसम्म हामी निर्वाचनमा जाने छैनौँ।’ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई परिवर्तन भन्दै उनले आफूहरू अझै डटेर शान्तिपूर्ण रुपमा लड्ने बताएका छन्।
अहिलेको आन्दोलन देशको मुहार फेर्ने अभियान भएको र यो फर्किएर धेरै समयसम्म नआउने भन्दै उनले देशको विकास होस् भन्ने चाहना हुनेहरूलाई आफूसँग जोडिन आह्वान पनि गरेका छन्। ‘देश गम्भीर अवस्थामा छ, ७८ जना नेपालीले ज्यान गुमाउनु परेको छ। अहिले देशले निकाश खोजिरहेको छ र त्यसमा हामी आफूलाई जिम्मेवार ठान्छौँ र निकास दिलाएरै छोड्छौँ,’ उनले भनेका छन् ।
भदौ २३ को जेनजी आन्दोलनको नेतृत्व गरे पनि पछि १९ जना युवा मारिएपछि ढुंगाना दुई सातासम्म भूमिगत भएका थिए । उनले आफू भदौ २३ गतेदेखि नै सम्पर्कमा नआएको र भदौ २४ को दिन सडकमा नउत्रिएको उनको भनाइ छ । जेनजी आन्दोलन सुरु गर्ने मिराज ढुंगाना भए पनि २४ गतेपछि सुधन गुरुङ नाम गरेका युवाले आन्दोलन हाइज्याक गरेको आरोप लाग्दै आएको छ ।














प्रतिक्रिया