अनमोलको ‘जेरी अन टप’ को शनिबारका धेरै शोहरू खाली


‘जेरी अन टप’ ले शुक्रबार र शनिबार करिब २०० बढी शो पाएको छ, तर अधिकांश हलहरूमा दर्शक उपस्थिति कमजोर देखिएको छ । प्रारम्भिक बक्सअफिस प्रदर्शनका हिसाबले ठूलो स्टारकास्ट भएको फिल्मका लागि निराशाजनक सुरुवात हो ।

फिल्म क्षेत्रका विश्लेषकहरूका अनुसार, फिल्मको ट्रेलर र प्रमोशनले दर्शकको ठूलो अपेक्षा बनाए पनि कथा र प्रस्तुतीमा नयाँपनको कमीले हलसम्म तान्न सकेन।

यद्यपि, फिल्म हेरेका केही दर्शकले भने ‘जेरी अन टप’ दृश्यरूपले आकर्षक र मनोरञ्जनपूर्ण रहेको बताएका छन् । अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङको त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मले युवापुस्तालाई आकर्षित गर्ने प्रयास गरेको छ ।

फिल्ममा भुवन केसी, केदार घिमिरे ‘माग्ने बुढा’ र उषा खड्गीको अभिनय पनि रहेको छ ।

बक्सअफिसमा सुस्त सुरुवात भए पनि, आगामी साताको छुट्टी र सकारात्मक वर्ड अफ माउथले फिल्मको व्यापार सुधार्ने सम्भावना रहेको फिल्मका कलाकार र निर्माताको विश्वास छ । हलमा दर्शकको संख्या अपेक्षा अनुसार नदेखिनु फिल्मका निर्माताका लागि चिन्ताको विषय बनेको छ । चलचित्र बक्सअफिसमा कमजोर सुरुवात गरे पनि ‘जेरी अन टप’ मनोरञ्जनका लागि हेर्नलायक फिल्म भएको प्रतिक्रिया दर्शकहरु बाट पाएको छ ।