काठमाडौँ – इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव भोलि (सोमबार) नेपाल ल्याइँदै छ। परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउने तयारी गरिएको हो। विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।
विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थलमा उपस्थित रहने तयारी भएको स्रोतले जनाएको छ।
अध्ययनका क्रममा इजरायल पुगेका २२ वर्षीय विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका बेला बन्धक बनाइएका थिए। लामो समयसम्म उनी बेपत्ता रहँदा पछिल्लो असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि भएको बन्दी साटासाट क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षण र फरेन्सिक रिपोर्टबाट शव विपिनकै भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले जनाएका छन्।














प्रतिक्रिया