आइसिसी स्तब्ध : हवाई हमलामा तीन अफगान क्रिकेटरको निधन


काठमाडौँ –अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अफगानिस्तानको पक्तिका प्रान्तमा भएको हालैको हवाई हमलामा ज्यान गुमाएका तीन जना युवा अफगान क्रिकेटरप्रति गहिरो दुःख र संवेदना व्यक्त गरेको छ। ज्यान गुमाउनेमा कबीर आगा, सिब्गतुल्लाह र हारुन रहेका छन्। उनीहरू मैत्रीपूर्ण क्रिकेट खेलमा सहभागी भएर घर फर्कने क्रममा पाकिस्तानले गरेको भनिएको हवाई हमलामा परी ज्यान गुमाएका हुन्।

आइसिसीले विज्ञप्ति जारी गर्दै भन्यो, “हिंसाले परिवार, समुदाय र क्रिकेट जगतबाट तीन जना प्रतिभाशाली खेलाडीहरूलाई खोसेको छ। उनीहरूको एउटै सपना आफ्नो मनपर्ने खेल क्रिकेट खेल्नु थियो।संस्थाले अफगानिस्तान क्रिकेट बोर्डसँग एकजुटता जनाएको छ।। यस घटनाको अफगानिस्तान टी–२० टोलीका कप्तान राशिद खानले पनि कडा शब्दमा निन्दा गरेका छन्।