दलहरुको चेतावनीपछि प्रधानमन्त्री कार्की सक्रिय, भोलि सात दलसँग छलफल गर्ने


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा तोकिएको निर्वाचनको वातावरण बनाउन विघटित प्रतिनिधिसभाका राष्ट्रिय मान्यता प्राप्त सात दलसँग छलफल गर्ने भएकी छन् ।

कार्कीले मंगलबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा नेपाल र जनमत पार्टीलाई आमन्त्रण गरेको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए । विघटित संसदमा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी भए पनि ती दल राष्ट्रिय मान्यता प्राप्त होइनन् । अशोक राई नेतृत्वको जसपा उपेन्द्र यादवको जसपा नेपालबाट विभाजित भएको हो ।

निर्वाचनबारे दलहरूसँग छलफल नगरेको भन्दै नेताहरूले सरकारको आलोचना गरिरहेका वेला प्रधानमन्त्री कार्कीले दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्की पनि उपस्थित थिइन् । तर यसपटक भने प्रधानमन्त्री आफैंले दलहरूलाई निर्वाचनको वातावरण बनाउन संवादमा लागेकी हुन् ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको जगमा गठन भएको कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र चुनाव गर्नेगरी म्यान्डेट पाएको छ । प्रधानमन्त्री बनेको एक महिनापछि कार्की दलहरुसँग संवादमा जुटेकी हुन् । एमालेले फागुनमा हुने निर्वाचनमा भाग नलिने घोषणा गरेको छ ।