आफ्नै घरमा भेटिए विदेश भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का, गृहमन्त्री अर्यालको भिजिविलिटी पनि उस्तै


काठमाडौं । पूर्वऊर्जामन्त्री दिपक खड्का आफ्नै घरमा भेटिएपछि गृहमन्त्री ओमप्रकाश अर्याल सर्वत्र आलोचित भएका छन् । अर्यालले दिएको सूचना र अन्तर्वार्ताका आधारमा मिडियाले खड्का विदेश भागेको समाचार प्रकाशन र प्रसारण गरेका थिए । गृहमन्त्री अर्यालले आइतबार नयाँ पत्रिकामा अन्तर्वार्ता दिँदै पूर्वऊर्जामन्त्री भागेको र अन्य पनि भाग्ने क्रममा रहेको बताएका थिए ।
त्यही आधार र अन्य स्रोतका आधारमा सोमबार कान्तिपुर दैनिकले पनि खड्का विदेश भागेको समाचार प्रकाशन गरेका थिए । तर सोमबार बिहानै पूर्वमन्त्री खड्का बुढानिलकण्ठस्थित आफ्नो जलेकै घरमा भेटिए । खड्काले पत्रकार सम्मेलन नै गरेर आफू जेनजी आन्दोलनका क्रममा घरमै रहेको र केही समय भारतमा उपचार गराएर फर्किएको बताएका छन् । यो घटनापछि अहिले गृहमन्त्री अर्यालका साथै मिडियाका सूचनामा विश्वसनीयता नदेखिएको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

खड्काले आफू भागेको नभई परिवारको उपचारका लागि भारत गएको स्पष्ट पारेका छन्। उनले सरकार र केही सञ्चारमाध्यमले समाजमा भ्रम फैलाएको आरोप लगाए। आफ्नो जलेको घरको पृष्ठभूमिमा बोल्दै खड्काले आगलागी भएको रातको कहालीलाग्दो क्षणबारे पनि जानकारी दिए।

‘भदौ २४ गते म घरमै थिएँ, खाना खाँदै थिएँ,’ उनले भने, ‘मेरो घरमा आगजनी हुँदै गर्दा ढोका ढ्याङढ्याङ गरेपछि खान पनि पाइनँ, बच्चालाई पनि खुवाउन पाइनँ। अंगरक्षक साथीहरूले मलाई बाहिर निकाल्नुभयो।’

खड्काले आगलागीपछि नेपाली सेनाले घटनास्थललाई सुरक्षित गरेर संरक्षण गरेकोसमेत बताए। उनले आफू, आफ्ना बच्चा र श्रीमतीसहित सपरिवारलाई डेँगु संक्रमण भएपछि पारिवारिक दबाबका कारण उपचारका लागि भारत गएको दाबी गरे।

‘म ११ दिन भारतको मेदान्त अस्पतालमा परिवारसहित उपचारमा बसेँ, त्यसको रेकर्ड छँदैछ,’ उनले भने, ‘मेरी श्रीमती अझै पनि उपचारकै क्रममा छिन्। उनलाई छाडेर म यहाँ समाजलाई दिग्भ्रमित पार्ने कुराको जवाफ दिन आएको हुँ।’

आफूमाथि कुनै कानुनी कारबाही वा यात्रा प्रतिबन्ध नभएको अवस्थामा भागेको भन्नु गैरजिम्मेवारपूर्ण भएको उनको भनाइ थियो। खड्काले गृहमन्त्रीलाई लक्षित गर्दै प्रश्न गरे, ‘सरकारले मलाई वारेन्ट काटेको छ ? कहीँ नजानु भनेर रोक लगाएको छ ? अनि म कसरी भागें ? कानुनको विद्यार्थी हुँ भन्ने गृहमन्त्रीले यस्तो बोल्न मिल्छ ?’