पाल्पामा जुवा खेल्न पैसा नदिँदा वृद्धाको हत्या


काठमाडौँ – पाल्पामा जुवा खेल्न पैसा नदिएको रिसमा एक वृद्धाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका–४ देउगीरकी ७६ वर्षीया फुलमाया जिसीको हत्या भएको हो। सोमबार राति झडेवाका ३७ वर्षीय मीनबहादुर विश्वकर्माले जुवा खेल्दा हारेपछि पैसा सापटी माग्दा जिसी दम्पतीले नदिएपछि उनले हँसियाले आक्रमण गरेका थिए।

आक्रमणबाट फुलमायाको घटनास्थलमै मृत्यु भएको र उनका ८२ वर्षीय श्रीमान् प्रेमबहादुर जिसी गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए। घाइते प्रेमबहादुरलाई उपचारका लागि बुटवल पठाइएको छ।

घटनापछि फरार भएका मीनबहादुरलाई प्रहरीको टोलीले राति नै आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।