यस्तो बन्दैछ गुण्डुमा ‘ओली कुटी’


काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको नाममा भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ बन्ने भएको छ । ओलीका लागि ‘ओली कुटी’ बनाउने एमालेले संकल्प लिएको हो ।

एमाले नेता महेश बस्नेतले स्थानीयले आफ्नै पहलमा ओली कुटी बनाउन पहल लिएको र आफू संयोजक रहेको बताएका छन् । ‘स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन्, म आफू संयोजकको भूमिकामा रहनेछु।

ओली कुटी कस्तो देखिन सक्छ ?’ भनेर अहिले नै फोटो संकलन सुरु भइसकेको छ। देशभरबाट सुझाव र समर्थन आउँदैछ,’ उनले भनेका छन् ।

ओलीको बालकोटस्थित घर भदौ २४ गतेको जेन जीआन्दोलनमा जलेर ध्वस्त भएपछि उनी अहिले भक्तपुरको गुण्डुमा बस्दै आएका छन् । निर्माण हुने घरका केही नमुनाहरू समेत बस्नेतले सार्वजनिक गरेका छन् । ओलीले बालकोटस्थित निवास मरणोपरान्त राज्यलाई दिइसकेका छन् ।

निवर्तमान प्रधानमन्त्री ओली संविधान दिवसका दिनदेखि भक्तपुरको गुण्डुमा भाडाका घरमा बसाइँ सरेका छन् । जेनजी आन्दोलनकारीले जलाइदिएको घर हेर्न बुधबार बालकोट पुगेका ओलीले पनि जलाइदिएको घर मर्मत नगरिने बताएका थिए । ओलीले बालकोट निवास आफ्नो निधनपश्चात संग्रहालयका रुपमा राज्यलाई दिने गरी पास भइसकेको बताएका थिए ।

ओलीले बालकोटका दुवै घर श्रीमती राधिका शाक्यले ३३ वर्ष राष्ट्र बैंकमा जागिर खाएर बनाएको बताए । ओलीकी धर्मपत्नी राधिका शाक्यले पनि खण्डहर बनेको घर अवलोकन गर्दै नयाँ पुस्तालाई यो घर संग्रहालयको रूपमा छोड्ने सपना राखेको बताएकी थिइन् ।