खगेन्द्र सुनारदेखि बब्लु गुप्तासम्म मन्त्री बन्दै, आजै सपथ


काठमाडौं । सरकार गठन भएको डेढ महिनापछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।

जेनजी आन्दोलनको बलमा भदौ २७ मा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आज चारजनालाई मन्त्री नियुक्त गर्न लागेकी हुन् ।
स्रोतका अनुसार दलित अभियन्ता खगेन्द्र सुनार श्रम तथा रोजगार, सम्पदाविद् गणपतिलाल श्रेष्ठ पर्यटन, सामाजिक अभियन्ता बब्लु गुप्ता युवा तथा खेलकुद र चिकित्सक सुधा शर्मा गौतम स्वास्थ्यमन्त्री बन्ने तय भएको छ । प्रधानमन्त्रीले उनीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकेकी छन् ।

चारैजनालाई आजै मन्त्रीको शपथ खुवाउने तयारी रहेको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जानकारी दियो । यसअघि नै ओमप्रकाश आर्याल गृह, रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ उर्जा, महावीर पुन शिक्षा, मदन परियार कृषि, जगदिश खरेल सञ्चार, अनिलकुमार सिन्हा उद्योग मन्त्री नियुक्त भइसकेका छन् । आमनिर्वाचन गर्ने जिम्मेवारी पाएको अन्तरिम सरकार डेढ महिनासम्म पनि पूर्ण हुन नसकेपछि प्रधानमन्त्री कार्की आलोचित हुँदै आएकी थिइन् ।