सुन तोलाको साढे ११ हजार घट्यो


काठमाडौं । तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । तिहारका बेला अन्तर्राष्ट्रियस्तरमा सुन प्रतितोला ४२ हजारले घटेको थियो । तर नेपालमा भने न्यून दरले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते नै सुनको भाउ करिब ५ प्रतिशत घटेको थियो । असोज ३ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको सुनको भाउ अहिले ४१११ डलर छ । एक औंस बराबर २.४३ तोला हुन्छ ।

नेपालमा भने सार्वजनिक विदा परेसँगै महासंघले कात्तिक ४ र त्यसयता मूल्य समायोजन गरेन । यसको प्रभाव आइतबार मात्रै देखिएको हो । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ प्रतितोला २६५ रुपैयाँ घटेको छ । तिहारअघि चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा कारोबार भएकोमा आज तीन हजार १५ रुपैयाँ कायम भएको छ ।