युलेन्स जलाउन गएको भनेर प्रचार गरिएको क्याप्टेन विजय लामाको प्रस्टोक्ति


काठमाडौं । कलाकार एवं क्याप्टेन विजय लामाले आफूलाई जेनजी आन्दोलनका बेला युलेन्स स्कुल जलाउन गएको भनेर प्रचार गरिएको भन्दै गुनासो गरेका छन् । उनले आफ्नो फोटो राखी दुरुपयोग गरेको दाबी पनि गरेका छन् ।

क्याप्टेन लामाले आफू राष्ट्रलाई अति नै माया गर्ने कलाकार भएको भन्दै राष्ट्रियध्वजाबाहक नेपाल एयरलाइन्सको पाइलट भएकाले जहिल्यै चन्द्र सूर्य झण्डा फहराउने गरेको पनि भनेका छन् । ।

‘कहिल्यै म मेरो देशलाई हानी नोक्सानी पुराउने काममा लाग्दिन । मेरो कारणले मेरो देशले कहिल्यै टाउको निहुराउनु पर्दैन, ठडाउनै पाउँछ,’ उनले भनेका छन् ।

लामाले हुँदै नभएको कुरा जोडजाड पारेर केही अवान्छित कुतत्वले कुत्सित मनसायले आफूलाई बदनाम गराउन खोजेको भन्दै नभएको कुराबाट सबैलाई सावधान हुन सतर्क हुन अनुरोध पनि गरेका छन् ।

‘आज केही कुत्सित तत्वले विजय लामा युलेन्स स्कुल जलाउन गयो भन्दै मेरो फोटो राख िदुरुपयोग गरेछन् । अस्ति दिपकराज गिरी, हिजो निश्चल बस्नेत र आज मलाई जथाभावी लेखी कला र कलाकारको बदनाम गराउनेदेखि सावधान हुन अपिल गर्दछु । कलाकार नामको पछाडि लागेर यसो गर्नुपर्दैन । भावना जोड्ने कलाकारले भावना तोड्दैन । क्याप्टेन त झन् विमानको माध्यमबाट एक देश अर्को देशसँग जोड्ने गर्दछ । मैले जीवनमा भावना एक अर्कोसँग जोड्ने, एक देशसँग अर्को देश जोड्ने काम गरे र चन्द्र सूर्य फहराएँ । म तोड्ने तोडफोडको विरोधी हुँ,’ उनले प्रस्टीकरण दिँदै भनेका छन् ।

भदौ २४ को दिन ललितपुरको सातदोबाटो र काठमाडौंको बाँसबारीस्थित युलेन्स स्कुल भवन जलाइएको थियो । शनिबार बिहानैदेखि लामाले युलेन्स स्कुलको अगाडि प्रदर्शनकारीसँग सेल्फी खिचेको तस्बिर र भिडियो भाइरल बनेको थियो । सर्वत्र आलोचना भएपछि उनले राति नै सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिएका हुन् ।