काठमाडौं । श्रम तथा रोजगारमन्त्री नियुक्त हुन लागेका दलित अभियन्ता खगेन्द्र सुनार विवादित व्यक्ति भएको सार्वजनिक भएपछि उनीमाथि पुनर्विचार हुने भएको छ।
आइतबार दिउँसो साढे २ बजे सुनारसहित चारजनालाई मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी भए पनि अन्तिम समयमा पुनर्विचार हुन लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।
शपथका लागि तोकिएको समयभन्दा केहीअगाडि प्रधानमन्त्री कार्की केही मन्त्रीहरूसँग बालुवाटारमा छलफलमा छिन् ।
स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा उनलाई पक्राउ गर्न २०८१ असार २१ गते नै सुर्खेत जिल्ला अदालतले पुर्जी जारी गरेको थियो । सामाजिक सञ्जालमार्फत जथाभावी अभिव्यक्ति दिने र व्यक्तिको चरित्रहत्या गर्ने उनीमाथि साइबर ब्युरो र प्रहरीमा गरी २२ वटा उजुरी परेका न् । सुनारविरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको, तर मुद्दा फर्स्यौट नभएको पाइएको छ ।
सुनार नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेको पनि खुलेको छ । २०७८ मंसिरमा भएको १४औं महाधिवेशनका लागि सुनार दैलेख क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि बनेका थिए । त्यसबेला खुलातर्फ उम्मेदवार बनेर उनले ३४९ मत ल्याएर महाधिवेशन प्रतिनिधि जितेका थिए । कांग्रेसमा अहिले पनि यही महाधिवेशन प्रतिनिधि कायमै छ ।
यसअघि स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी संगीता कौशल मिश्राको अन्तिममा नाम काटिएको थियो । हालै मात्र उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा एमआरआई खरिदमा १४ करोड भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ ।














प्रतिक्रिया