नेपालमा प्रधानमन्त्रीलाई सेनाले चाहेको बेलामा पदच्यूत गर्ने परम्परा बस्यो


काठमाडौं । केपी ओली सरकार जेनजी आन्दोलनले ढलायो भन्ने हल्ला गरिंदै छ वास्तविकता दुरुस्त त्यस्तै होइन । ओली सरकार प्रतिनिधिमार्फत जनताले चुनेका हुन् । उनलाई सत्तामा राख्ने हटाउने निर्णय गर्ने अधिकार जनप्रतिनिधिलाई मात्र थियो । ओलीलाई जनप्रतिनिधिहरुले हटाएका होइनन् । त्यसको अर्थ ओलीलाई जनताले सत्ताबाट हटाए भन्न मिल्दैन ।

जेनजी पुस्ता पनि नेपाली जनता नै हो । ओलीले जेन्जीको हातमा राजीनामा बुझाएका होइनन् । जेनजीले मागेको पनि होइन । राजीनामा स्वीकृत गर्ने अधिकारी जेनजी हुँदा पनि होइन ।

राष्ट्रपतिबाट राजीनामा स्वीकृत भएको समाचार सुनिएको हो । विपक्षी दलहरु कसैले राजीनामा मागेको थिएन । राजीनामा माग्ने अधिकार राष्ट्रपतिलाई पनि थिएन । सजिलै राजीनामा गरिहाल्ने स्वभाव ओलीको होइन ।

सेनाले राजीनामा मागेको हो रे भन्ने हल्ला साँचो हो भने त्यो सरासर गैरसंवैधानिक विषय हो । सेनाले राजीनामा माग्ने र प्रधानमन्त्रीले सुरुक्क राजीनामा गर्ने परम्परा बसाल्नुको अर्थ प्रकारान्तरले सैनिक शासनको अभ्यास सुरु गर्नु हो ।

ओलीले गरेको त्यही हो भने सरासर गलत भयो भन्नुपर्छ । त्यस्तो अभ्यासले त भविष्यमा मन नपरेको प्रधानमन्त्रीलाई सेनाले चाहेको बेलामा पदच्यूत गर्ने परम्परा बस्ने भयो । डिरेल भएको संविधान चुनाबबाट लिकमा फर्कन्छ भन्न बुद्धिजीवीहरुको तर्क छ । यसमा माओवादी र कांग्रेसले पनि त्यसमा सहमति जनाएको छ ।

आगामी चुनावबाट सेनालाई नरुच्ने दल वा व्यक्तिहरु चुनिएर आए अथवा सेनाको मर्जी विपरीत मनखुसी सरकार बनाए भने फेरि पनि सेनाले राजीनामा माग्दैन भन्ने प्रत्याभूति के छ ?

नेपाली जनता अर्थात् जेनजीहरु सडकमा आउनै पर्दैन । प्रायोजित आन्दोलनहरु जति पनि गराउन सकिनेछ । गराइने छ । प्रहरीको वर्तमान पुस्ताले आत्मबल गुमाइसकेको छ । त्यही निहुँमा सेनाले नयाँ सरकारसंग राजीनामा माग्ने छ ।

सरकारको आदेश पालन गर्ने सुरक्षा संयन्त्र नभएपछि कुनै पनि सरकार एक दिन पनि टिक्दैन । सधै सुशीला कार्कीहरुको हातमा सत्ताको बागडोर जाने सिलसिला कसरी रोक्ने भनेर गम्भीर चिन्तन गर्नुपर्ने आवश्यकता छ । तर दलका नेताहरूले त्यसतर्फ सोचेको देखिन्न ।

जेनजी आन्दोलनले ओली सरकार अपदस्थ गरेको मात्र होइन, देशको राजनीतिलाई भड्खालोमा धकेलेको छ । जेनजीले समर्थन गरेको होस् वा स्वयम् जेनजीकै नेतृत्वमा बनेको सरकार होस्, त्यसले भविष्यमा स्वतन्त्रतापूर्वक काम गर्न पाउनेछ भनेर कसरी विश्वस्त हुन सकिन्छ र ? जेनजीसँग यसको उत्तर छैन ।